![]()
काठमाडौ,२ भदौ ।
प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषले बाढी प्रभावितका लागि वितरण गर्न गृह मन्त्रालयलाई एक अर्ब रुपैयाँ निकासा दिने निर्णय गरेको छ। कोष सञ्चालक समितिका संयोजक एवं राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. स्वर्णिम वाग्लेको अध्यक्षतामा बुधबार बसेको बैठकले पहिलो किस्तामा ५० करोड र दोस्रो किस्तामा ५० करोड गरी एक अर्ब रुपैयाँ दिने निर्णय गरेको थियो। तर, सो रकम शुक्रबार विहानसम्म गृह मन्त्रालयमा पुगेको छैन।
गृहले मन्त्रालयकै केन्द्रीय दैवीप्रकोप उद्धार कोषमा रहेको रकम नै बाढी प्रभावित क्षेत्रमा पठाइएको जानकारी दिएको छ। गृह मन्त्रालयका सहायक प्रवक्ता झंक ढकालले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषको रकम आउन ढिलाइ भए पनि रकम अभाव नभएको दावी गरे । उनका अनुसार हालसम्म बाढी प्रभावित १८ जिल्ला र क्षेत्रीय प्रशासन कार्यालय हेटौँडामा गरी सात करोड १० लाख रुपैयाँ पठाइएको छ। दैवीप्रकोप उद्धार कोषमार्फत सो रकम जिल्ला प्रशासन कार्यालयमा पठाइएको छ। जिल्ला प्रशासन कार्यालयमार्फत बाढी प्रभावित क्षेत्रमा राहत वितरण गर्ने गरिएको छ।
बाढीपहिरोलगत्तै विभिन्न दाताबाट प्रधानमन्त्री उद्धार कोषमा रकम जम्मा हुन थालेको छ। प्रधानमन्त्री कार्यालयका सहायक प्रवक्ता चिरञ्जीवी पौडेलले रकम जम्मा हुन थाले पनि त्यसको विवरण बिहीबारदेखि मात्रै लिइएको दावी गरे । दातृ निकायलाई कोषको नाममा विभिन्न १८ वटा बैंकमा रहेको खाता नम्बर दिइएको छ।


