![]()
एजेन्सी,५ साउन ।
फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुटेर्तेको सवारीमाथि बुधबार सशस्त्र हमला भएको छ । सो हमलामा परी उनका चार अंगरक्षक गम्भीररुपमा घाइते भएका छन् । उनलाई नै लक्षित गरी सो हमला भएको हो । तर, सो सवारीमा सुरक्षाको लावालस्करको निकै पछि उनी रहेकाले ठूलो दुर्घटना टरेको जनाइएको छ ।
राष्ट्रपति डुटेर्ते पनि सोही सवारीमा रहेको अनुमान गरी गोली चलाइएको थियो । गोली लागेर उनको सवारीका लागि खटेका सुरक्षाकर्मी घाइते भएका बताइएको छ । फिलिपिन्सका संदिग्ध कम्युनिष्ट विद्रोहीले सो हमला गरेको गृह मन्त्रालयले जानकारी दिएको छ ।
फिलिपिन्सको दक्षिणी मिन्डानाओ टापुनजिकको राजमार्गमा उनको सवारीका लागि ठूलो संख्यामा सवारी खटाइएको थियो ।तर, हमलाकारीले भने राष्ट्रपति रहेको अनुमान गरी ती सवारीमध्येको एक सवारी–साधनमा हमला गरेका थिए । गोली लागेर चारजना सुरक्षाकर्मी गम्भीर घाइते भएका छन् ।
फिलिपिन्समा विगत लामो समयदेखि सशस्त्र हिंसा मच्चाइरहेको कम्युनिष्ट विद्रोही समूहले हालैमात्र सरकारले सुरु गरेको सैनिक शासनको विरोध गरिरहेको थियो । सोही विरोधस्वरुप यो हमला गरिएको अनुमान फिलिपिन्सको सैनिकले गरेको छ । एकजना सैनिक जर्नेलले उक्त हमला कम्युनिष्ट विद्रोहीले नै गरेको र सैनिक शासनको विरोधस्वरुप यो हमला गरिएको बताएका छन् ।


