![]()
डेडिकेटेड तथा ट्रंकलाइनको बक्यौता महसुल विवाद फेरि उत्कर्षमा पुगेको छ। नेपाल विद्युत् प्राधिकरणले दोस्रो किस्ताको बक्यौता रकम भुक्तानी नगर्ने २१ वटा उद्योगहरूलाई तत्काल रकम बुझाउन ताकेता गर्दै पत्राचार गरेको छ।
प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यका अनुसार, पहिलो किस्ता तिरेर लाइन जोडिएका उद्योगहरूले मंसिर महिनामा बुझाउनुपर्ने दोस्रो किस्ताको रकम हालसम्म बुझाएका छैनन्। प्राधिकरणले ती उद्योगहरूलाई पत्र काट्दै तोकिएको समयमा रकम नबुझाए पुनः विद्युत् लाइन काट्ने चेतावनी दिएको छ।लामो समयदेखि जारी डेडिकेटेड र ट्रंकलाइन विवाद सुल्झाउन सरकार र प्राधिकरणको समन्वयमा बक्यौता रकमलाई किस्ताबन्दीमा तिर्ने सुविधा दिइएको थियो। सोही सहमति अनुसार पहिलो किस्ता बुझाएपछि प्राधिकरणले काटिएका उद्योगहरूको लाइन पुनः सुचारु गरिदिएको थियो।
“२१ वटा उद्योगले पहिलो किस्ता तिरे पनि मंसिरको दोस्रो किस्ता बुझाउन आलटाल गरिरहेका छन्,” कार्यकारी निर्देशक शाक्यले भने, “हामीले पत्राचार गरिसकेका छौँ, दोस्रो किस्ता नबुझाए कानुन बमोजिम फेरि लाइन काट्ने प्रक्रिया अघि बढाइनेछ।”
उद्योगीहरूले भने आयोगको प्रतिवेदन र टीओडी (Time of Day) मिटरको प्रमाणका आधारमा मात्रै वास्तविक बक्यौता तिर्ने अडान राख्दै आएका छन्। अर्कातर्फ, प्राधिकरणले भने लोडसेडिङको समयमा अतिरिक्त बिजुली चलाएको प्रमाण सुरक्षित रहेको दाबी गर्दै बक्यौता नछोड्ने अडान लिएको छ।
पटक–पटक लाइन काट्ने र जोड्ने शृङ्खलाका कारण औद्योगिक उत्पादन प्रभावित भइरहेको बेला, दोस्रो किस्ताको विवादले फेरि उद्योग र प्राधिकरणबीचको सम्बन्धमा तनाव पैदा गरेको छ।प्राधिकरण स्रोतका अनुसार आगामी केही दिनभित्रै बक्यौता रकम जम्मा नभए बोर्डको निर्णय अनुसार विद्युत् आपूर्ति बन्द गर्ने गरी प्राविधिक तयारी पूरा गरिएको छ। यसअघि सरकारले उद्योगी र प्राधिकरणबीचको विवाद मिलाउन विभिन्न समिति बनाए पनि पूर्ण समाधान भने निस्कन सकेको छैन।


