![]()
एजेन्सी । चीनको एउटा अदालतले अमेरिकी स्मार्टफोन निर्माता एप्पलका केही मोडलका फोन चीनमा आयात र बिक्री गर्न प्रतिबन्ध लगाउन आदेश दिएको छ। अमेरिकी माइक्रो चिप निर्माता क्वालकमले एप्पलका केही फोनमा आफ्नो नाममा रहेको प्याटेन्ट चोरी गरेको आरोप लगाउँदै मुद्दा दायर गरको थियो।
उक्त मुद्दामा सुनुवाइ गर्दै अदालतले सो आदेश दिएको सिएनएनले उल्लेख गरेको छ। एप्पलले आइफोन ६एस, ६एस प्लस, आइफोन ७, ७ प्लस, आइफोन ८, आइफोन ८ प्लस र आइफोन एक्समा पेटेन्ट उल्लंघन गरेको दाबी गर्दै क्वालकमले मुद्दा हालेको थियो। आइफोनका एक्सएस, एक्सएस प्लस र एक्सआर मोडलमा भने यो प्रतिबन्ध लागु हुने छैन। किनकी क्वालकमले मुद्दा हाल्दा यी फोन बजारमा आइसकेका थिएनन्।
आइफोनमा फोटो एडिट र रिसाइज गर्नका लागि प्रयोग भएको प्रविधिको प्याटेन्ट आफूमा रहेको क्वालकमको दाबी छ। उसले टच स्क्रिनमा एपको म्यानेज गर्न अपनाइने प्रविधि पनि आफ्नै भएको दाबी गरेको छ।
अमेरिका र चीनबीच व्यापार युद्ध थाँती राखेर वार्ता भइरहेका बेला चिनियाँ अदालतको यो आदेशलाई आश्चार्यका रूप हेरिएको सिएनएनले जनाएको छ।


