![]()
एजेन्सी । प्रधानमन्त्री केपी शर्मा ओलीले हरेक द्वन्द्वको परिस्थिति फरक हुने र त्यसका लागि भिन्न समाधान आवश्यक हुने बताउँदै द्वन्द्वको राजनीतिक समाधान खोज्नुपर्ने औल्याएका छन् ।
संयुक्त राष्ट्र सङ्घको मुख्यालयभित्र ट्रस्टिसिप च्याम्बरमा आयोजित ‘शान्ति स्थापनार्थ कार्य’ (एक्सन फर पिसकिपिङ) को उच्चस्तरीय बैठकमा मंगलबार सम्बोधन गर्दै उनले घरमै तयार भएको, राष्ट्रले स्वामित्व लिएको र नेतृत्व दिएको राजनीतिक प्रक्रियाले दिगो शान्ति दिनसक्छ भन्ने कुरालाई नेपालले स्पष्टसँग प्रदर्शन गरेको पनि बताए।
प्रधानमन्त्री ओलीले नेपालले संयुक्त राष्ट्र सङ्घको शान्ति स्थापना गर्ने ४५ अभियानमा एक लाख ३६ हजार सैनिक परिचालन गरेको र यस वर्ष नेपालले राष्ट्र सङ्घीय अभियानमा संलग्नताको ६० वर्ष मनाउँदै गरेको जानकारी पनि दिए। उनले शान्ति प्रयासमा महिलाको पूर्ण समान तथा अर्थपूर्ण सहभागितामा त्यसको सफलताको प्रमुख तत्व हुने बताउँदै नेपालले शान्तिस्थापकको पेशागत क्षमता सुधार गर्न विश्वस्तरीय तालिम सुविधा उपलब्ध गराउने प्रस्ताव राखे।
शिखरबैठक कक्षमा नेपाली टोलीको रूपमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल, अमेरिकाका लागि नेपाली राजदूत अर्जुनकुमार कार्की, संयुक्त राष्ट्र सङ्घका लागि नेपाली स्थायी नियोगका कार्यवाहक राजदूत निर्मलराज काफ्ले, परराष्ट्र मन्त्रालयका सचिव शङ्करदास वैरागी, परराष्ट्र मन्त्रालयका प्रवक्ता तथा सहसचिव भरतराज पौडेल, शिष्टाचार महापाल दीपक अधिकारी उपस्थित थिए।


