![]()
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पुननिर्माणको कामलाई द्रुत गतीमा अघि बढाउन निर्देशन दिएका छन् । प्राधिकरणको निर्देशक समितिको १३ औं बैठकलाई बिहीबार सिंहदरबारमा सम्बोधन गर्दै समितिका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले यस्तो निर्देशन दिएका हुन् । प्रधानमन्त्री ओलीले ऐन नियमले कुनै प्रकारका ढिलाई भए त्यसलाई फुकाएर भूकम्प पिडितलाई यथासक्य चाँडो घरबासको व्यवस्था मिलाउनु पर्ने बताए ।
प्राधिकरण निश्चित समयका लागि भएकोले यसले पनि समयभित्रै काम सम्पन्न गर्नुपर्ने प्रधानमन्त्री ओलीको भनाइ छ । प्रधानमन्त्री ओलीले सरकारको अनुदान नपाइ घर निर्माण गरेका पिडितलाई पनि अनुदान रकम उपलब्ध गराउन प्राधिकरणलाई निर्देशन दिए ।
प्रधानमन्त्री ओलीले प्राधिकरणका पूर्व कार्यकारी अधिकृत र कर्मचारीहरुले लिएको फिल्ड भत्ताको बिषयमा पनि चासो व्यक्त गरे । “बैठक कार्यलय समयमा राख्नुहोस । कार्यलय समयमा तपाईंहरुलाई सरकारले तलब दिएको छ । त्यस समयमा गरेको कामको अतिरिक्त पैसा सरकारले दिदैन” प्रधानमन्त्री ओलीले भने “ कर्मचारीको दुर्गम भत्ताका बिषयमा छलफल गरेर निर्णय गरौंला । ”
ओलीले धरहरा निर्माणको टेण्डरका बिषयमा पनि चासो व्यक्त गरेका छन् । “धरहरा पुन निर्माणकामा अनुमान भन्दा कम रकममा ठेक्का सकारेको देखिन्छ” प्रधानमन्त्री ओलीले भन्नुभयो “तर यसको गुणस्तरमा कुनै कमी हुनुहुदैन । ठेक्का नै कम रकममा लिएको भनेर गुणस्तरहिन काम गर्न पाइदैन ।”


