Breaking News.... EverestOnlineKhabar
June 28, 2026

Loading

काठमाडौ।बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) को चाैंथाे शिखर सम्मेलनको तयारीका लागि सदस्य मुलुकका विदेश मन्त्रालयका सचिवहरू सम्मिलित वरिष्ठ अधिकारीको बैठक मङ्गलबार काठमाडौँमा बस्दैछ।

बैठकमा सहभागी हुन सदस्य राष्ट्रका विदेश मन्त्रालयका सचिव काठमाडौं आइसकेका छन । वरिष्ठ अधिकारीहरुको यो १९औँ बैठक हो । उनीहरुको स्वागतमा मन्त्रालयका सचिव शङ्करदास बैरागीले  रात्रिभोजको आयोजना गरेका छन्। कार्यक्रममा उनीहरूबीच मंगलबार बिहान बस्ने बैठकका बारेमा अनौंपचारिक छलफलसमेत हुनेछ ।

सो बैठकपछि भदौ १३ गते सदस्य राष्ट्रका परराष्ट्र विदेश मन्त्रिस्तरीय बैठक हुनेछ भने भदौ १४ र १५ गते राष्ट्राध्यक्ष सरकार प्रमुखको शिखर सम्मेलन हुनेछ । वरिष्ठ अधिकारीको बैठकले सुझावसहित प्रतिवेदन मन्त्रिस्तरीय बैठकमा पेश गर्नेछ । उक्त सुझावमाथि भदौ १३ गतेको मन्त्रिस्तरीय बैठकमा छलफल हुनेछ।

बैठकमा बिम्स्टेकलाई प्रभावकारी र परिणाममुखी बनाउने, सहयोगका क्षेत्रलाई प्राथमिकताका आधारमा र समूहीकृत गर्ने, संस्थागत सुधार सुदृढिकरणलगायत विषयमा छलफल र परामर्श हुनेछ । मन्त्रिस्तरीय बैठकपश्चात भदौ १४ गते शिखर सम्मेलन सुरु हुनेछ। सोही दिन राष्ट्रपति विद्यादेवी भण्डारीले बिम्स्टेक राष्ट्रका नेतासँग भेटवार्ता गर्नुका साथै दिवाभोजको आयोजना गर्नेछिन्।

सोही दिन साँझ प्रधानमन्त्री केपी शर्मा ओलीले सदस्य राष्ट्रका राष्ट्राध्यक्ष सरकार प्रमुखको सम्मानमा विविध सांस्कृतिक कार्यक्रमसहित रात्रिभोजको आयोजना गर्ने कार्यक्रम छ । भदौ १५ गतेको सम्मेलन अघि शीर्ष नेताहरुबीच अनौपरिक भेटघाटसमेत हुनेछ । त्यसपछि औपचारिक बैठक हुने र घोषणा पत्र जारी हुने कार्यक्रम तय भएको छ।

यस सम्मेलनमा नेपालले खासगरी सम्पर्क सञ्जाल विस्तार, बौद्ध परिपथ, हिमालय अर्थनीति, बिम्स्टेकको बडापत्र निर्माणलगायत विषयमा जोड दिने मन्त्रालयले जनाएको छ । बिम्स्टेक सदस्य राष्ट्रबीच सहयोग र साझेदारी प्रवद्र्धन गरी आर्थिक विकास र समृद्धि हासिल गर्ने उद्देश्यले सन् १९९७ मा यसको स्थापना भएको हो । बङ्गलादेश, भारत, म्यान्मा, श्रीलङ्का थाइल्याण्ड, नेपाल र भुटान यसका सदस्य राष्ट्र हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.