![]()
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वलडाकू लेनिन विष्टलाई विमानस्थलबाटै फर्काएको घटनाबारे गृहमन्त्रालयसँग २४ घण्टे लिखित स्पष्टीकरण सोधेको बताउनुभएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार सम्पादकहरुसँग भएको भेटमा प्रधानमन्त्री ओलीले आफूले घटना थाहा पाएपछि गृहमन्त्रालयलाई स्पष्टीकरण सोधेको बताउनुभएको हो ।
‘एयरपोर्टबाट लेनिन विष्ट फिर्ता गरेको भन्ने सुनें । सुनेपछि मैले गृहमन्त्रालयलाई प्रधानमन्त्री कार्यालयबाट यो अलि बढ्तै भयो, यो कसको आदेशमा कसले गरेको हो, कसरी गरेको हो, २४ घण्टाभित्र लिखित स्पष्टीकरण र जवाफ दिनू भनेर मैले गृहलाई लिखित पठाएँ’ प्रधानमन्त्री भन्नुभयो,‘यस सम्बन्धमा, लेनिन बिष्टका बारेमा के भो, म हेर्दैछु अहिले । अनधिकृत ढंगले या गैरकानूनी ढंगले कुनै व्यक्तिको स्वतन्त्रताको हकमा तलमाथि पर्नेगरी केही भएको छ कि छैन, हेर्नुपर्यो भनेर मैले झिकाएको हो ।
थाइल्याण्डमा हुन लागेको एक कार्यक्रममा जान लाग्दा पूर्व लडाकू विष्टलाई अध्यागमनले विमानस्थलबाटै फर्काएको थियो । उनलाई ‘माथिको आदेश’ भन्दै फर्काइएको थियो ।


