Breaking News.... EverestOnlineKhabar
June 28, 2026

Loading

बीबीसी । संयुक्त राष्ट्रसंघका पूर्व महासचिव तथा नोबल पुरस्कार विजेता कोफी आननको निधनपछि उनीप्रति विश्वभरका नेताहरूले श्रद्धाञ्जली व्यक्त गरिरहेका छन्। आननको शनिबार ८० वर्षको उमेरमा स्वीस सहर बर्नस्थित अस्पतालमा निधन भएको थियो। उनी थुप्रै वर्षदेखि जिनिभामा बस्दै आएका थिए।

राष्ट्रसंघका महासचिव एन्टेनियो गुटेरसले आननलाई राम्रो विश्वका लागि एकजना मार्गदर्शक भनी सम्झिएका छन् भने रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले उनलाई उल्लेखनीय व्यक्ति भनी व्याख्या गरेका छन्।

अमेरिकी पूर्व राष्ट्रपति बराक ओबामाले आननले सधैँ राम्रो विश्व बनाउन चाहेको बताएका छन्।

घानाका नागरिक आननले राष्ट्रसंघको प्रमुखको रुपमा सन् १९९७ देखि २००६ सम्म काम गरेका थिए र उक्त पदमा पुग्ने उनी एकमात्रै अश्वेत अफ्रिकी हुन्। त्यसयता उनले सिरियाका लागि राष्ट्रसंघीय विशेषदूतको भूमिका निर्वाह गरेका थिए र द्वन्द्व समाधानका लागि नेतृत्वदायी प्रयासहरूसमेत गरेका थिए।

कोफी आनन फाउण्डेसनले केही समयको बिमारीपछि शनिबार शान्तिपूर्वक उनको निधन भएको जनाएको छ। फाउण्डेसनले एउटा विज्ञप्ति निकाल्दै उनी निस्पक्ष र शान्तिपूर्ण विश्वका लागि जीवनभर प्रतिबद्ध रहेको जनाएको छ। उनलाई मानव अधिकारको क्षेत्रमा काम गरेको भन्दै नोबल शान्ति पुरस्कार समेत दिइएको थियो।

इरानको हमलालाई लिएर आननसँग विमती राखेका ब्रिटेनका पूर्व प्रधानमन्त्री टोनी ब्लेयरले उनलाई सच्चा राजनेता र असल मित्र रहेको बताएका छन्। राष्ट्रसंघका अहिलेका प्रमुख गुटेरसले आफ्ना पूर्ववर्तीलाई श्रद्धाञ्जली दिनेमा नेतृत्व गर्दै कोफी आनन भनेकै धेरै अर्थमा राष्ट्रसंघ रहेको बताएका छन्।

आननले कसैसँग तुलनै नहुने गरी गरिमा बढाएको र दृढ संकल्प राखेको पनि गुटेरसले बताएका छन्। रुसी राष्ट्रपतिले पनि रुसीहरूको दिलमा आननको सम्झना सदैव बाँच्ने बताएका छन्।

यसैबीच भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विश्वले एक महान् अफ्रिकी कुटनीतिज्ञ र मानवअधिकारवादी मात्रै नगुमाएर अन्तर्राष्ट्रिय शान्ति र सुरक्षाका एक विवेकीलाई पनि गुमाएको बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.