![]()
जनकपुर।प्रधानमन्त्री केपी शर्मा ओलीले चीन र भारतसँगको सम्वन्ध अत्यन्तै सुमधुर रहेको र दुबै देशसँग सहकार्यको वातावरण बनेको बताउनुभएको छ । प्रदेश २ को प्रदेशसभालाई सम्बोधन गर्दै उहाँले दुबै छिमेकीसँगको सहकार्यबाट नेपालको विकास गर्न सकिने भन्दै त्यसका लागि सहमति र समझदारी भएको बताउनुभयो ।
प्रधानमन्त्रीले ओलीले प्रदेशसभालाई सम्वोधन गर्ने कार्यक्रम अन्र्तगत प्रदेश २ लाई सम्वोधन गर्नुभएको हो । प्रदेश २ मा पुग्दा प्रधानमन्त्रीलाई प्रदेश सरकार, स्थानीय सरकार र सर्वसाधरणले भब्य स्वागत गरेका थिए । आफूले भारत र चीनको भ्रमण गर्दा दुबै देशलाई नेपालसँग रेलमार्गबाट जोड्न आग्रह गरेको र त्यस अनुसार काम अघि बढेको बताउनुभयो । प्रधानमन्त्रीले प्रदेश २ का मुख्य मुख्य बिशेषताबाट आफ्नो सम्वोधन सुरुगर्दै विकास सम्भावनावारे सबिस्तार चर्चा गर्नुभएको थियो ।
प्रदेश २ भूमि, ज्ञान र आध्यात्मको भूमि भएको उहाँले बताउँदै भन्नुभयो, ‘यहाँ असाधारण सम्भावना छ । अत्यन्त उर्बर भूमि छ । सुख्खा र र मरुभूमिकरण हुनबाट जोगाएर सिचाइको प्रवन्ध गर्ने र घट्दो पानीको सहतलाई फेरि माथि ल्याउने काममा जोड दिनुपर्छ । कृषिको आधुनिकीकरण गर्ने काम पनि सँगै लानुपर्छ ।’
प्रधानमन्त्री ओलीले एक टोकरी फूल अमेरिका र आँप अमेरिका, रसिया, जापान, मंगोलिया लगायतका देशमा निर्यात गर्न सकिने बताउनुभयो । उहाँले प्रदेश २ बाट भारतको कोलकत्तासम्म पानीजहज चलाउने योजना सुनाउनुभयो ।
सप्तरीको हनुमाननगरबाट कोलकाता पुग्ने पानी जहाज चलाउने केन्द्र सरकारको योजना रहेको बताउनुभयो । ‘मैले महासागरमा नेपालको आफ्नै पानीजहाज कुद्छ भनेको छु । अब कोशी, गण्डकी र कर्णलीबाटै समुन्द्रमा पानीजहाज र्पुयाउने भनेका छौं । प्रदेश २ बाटै कोलकत्तामा पनि पुग्छ’ उहाँले बनाउनुभयो ।
प्रधानमन्त्री ओलीले प्रदेश २ भाग्यमानी रहेको बताउनुभयो । पूर्वपश्चिम रेलमार्ग, पूर्वपश्चिम राजमार्ग, हुलाकी मार्ग प्रदेश २ सँग जोडिएको र अब पानीको बाटोबाट पनि आवागमन हुने भन्दै प्रदेश २ को विकासको सम्भावना बढी रहेको बताउनुभयो ।
भारतले सीमा सडकका बाँध बाँध्न नपाउने भन्दै त्यसका कारण नेपाली भूमि डुबानमा पर्ने समस्या हटाउनुपर्ने र त्यसका लागि आफूले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग कुरा गरेको बताउनुभयो । वर्षामा गंगामा बग्ने ४० प्रतिशत र हिउँदमा ७० प्रतिशत पानी नेपालको भएको भन्दै नदी नियन्त्रणको काम साझेदारी र परस्परिक हितमा आधारित भएर गर्न भारतलाई आग्रह गरेको बताउनुभयो ।
प्रधानमन्त्री ओलीले प्रदेश सरकारले स्पष्ट योजना बनाए सहयोग गर्न संघीय सरकार तयार रहेको बताउनुभयो । केरुङ काठमाडौं रेलमार्गमार्फत चीनसँग जोड्ने काम सुरु भएको उहाँले बताउनुभयो । बरु ती रेलमा के पठाउने भनेर चिन्ता गर्नुपर्ने उहाँले बताउनुभयो ।


