![]()
काठमाडौ,साउन ।
राजधानीकै सडकमा खाल्डाखुल्डी नपुरिँदा ट्राफिक जामलगायत यातायातको आवागमनमा समस्या भएकाले समितिकै बैठकमा आउन ढिला भयो। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसमेत कार्यक्षेत्र रहेको संघीय संसदको विकास तथा प्रविधि समितिको सोमबार बसेको पहिलो बैठकमा उपस्थित केही सांसदले यस्तो गुनासो गरे। यस्तो समस्या व्यवस्थापिका–संसदको विकास समितिमा पनि सांसदहरूले राख्ने गरेका थिए।
सांसद दुर्गा पौडेलले राजधानीकै सडक हुन् कि धान रोप्ने खेतका गरा छुट्याउन अप्ठ्यारो पर्ने गरेको बताए। जिल्ला जिल्लामा विनायोजना सडक निर्माण गर्दा वर्षामा पहिरो गएर गाउँ नै बगाइरहेकाले विकासका काम गर्दा ध्यान दिन सरोकार भएका निकायलाई सचेत गराउन उनले माग गरे।
‘यातायात एकाधिकार कागजमा मात्र तोडिएको छ, व्यवहारमा केही परिवर्तन भएको छैन, यसले यात्रुलाई समस्या भइरहेको छ, यो समस्या समाधानमा समितिले प्राथमिकता दिनुपर्छ ।’ उनले भने।
खानेपानी आयोजना सञ्चालनका लागि १० हजार जनसंख्या चाहिने व्यवस्थालाई संशोधन गर्न पनि सांसद पौडेलले अनुरोध गरे। सांसद टेकबहादुर बस्नेतले प्रदेश सरकार र स्थानीय तहले गर्ने विकासनिर्माणका कामको अनुगमनलगायत कार्यक्षेत्र समितिको पर्ने वा नपर्ने के हो भन्ने स्पष्ट पार्न ध्यानाकर्षण गराए।
सांसद टोपबहादुर रायमाझीले विकास निर्माणको काम गर्नुअघि भूउपयोग नीति ल्याइनुपर्नेमा जोड दिए। उनले भनेः‘साना सवारी पनि नछिर्ने कंक्रिटको पहाड बनाएर व्यवस्थित सहर निर्माण हुन सक्दैन, टोलटोलमा खुला मैदान सहितको सहरी गुरुयोजना बनाएर मात्र विकास निर्माण अघि बढाइनुपर्छ ।’


