![]()
काठमाडौ,साउन ।
प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले राखेका मागहरु असान्दर्भिक भएको टिप्पणी गरेका छन् । बिहीबार संविधान संशोधनलगायतका मागबारे प्रधानमन्त्रीको ध्यानाकर्षण गराउन ज्ञापनपत्र बोकेर बालुवाटार पुगेका राजपा अध्यक्ष मण्डलका संयोजक र सदस्यहरुसँग कुराकानी गर्दै ओलीले असान्दर्भिक माग पुनर्विचार गर्न पनि राजपा नेताहरूलार्इ आग्रह गरेका छन् ।
प्रधानमन्त्रीले राजपाका नेताहरुलाई भनेः‘हिजोका कतिपय माग आज असान्दर्भिक भइसकेका छन्,त्यसमा तपाईंहरुले पुनर्विचार गर्नहोस् ।’ संविधान संशोधनबारे राजपा नेताले राखेको जिज्ञासमा प्रधानमन्त्री ओलीले आवश्यकता र औचित्यका आधारमा संशोधन हुने बताएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । प्रधानमन्त्री ओलीले समग्र तराईको विकास गर्न वृहत योजना बनाउने प्रस्ताव समेत राजपा नेताहरूसँग गरेका छन् ।
तराईको विकास, चुरे संरक्षणको ठोस कदम, तटबन्धन, उद्योग स्थापना आदिका लागि वृहत योजना बनाउन प्रधानमन्त्रीले प्रस्ताव गरेका हुन् । तराईको विकासका लागि मानसिकता पनि परिवर्तन गर्नुपर्ने प्रधानमन्त्री ओलीको भनाइ छ ।
छलफलमा नेताहरु महन्थ ठाकुर, राजेन्द्र महतो, शरदसिंह भण्डारी, महेन्द्र राययादव, राजकिशोर यादव र केशव झा सहभागी थिए । भेटवार्ता राति ८ बजेदेखि करिब डेढ घन्टा चलेको थियो ।


