![]()
काठमाडौँ । नेपाल टेलिकमले आफ्नो मोबाइल एप ‘नेपाल टेलिकम’लाई परिमार्जन गरी नयाँ रुपमा प्रस्तुत गरेको छ । नयाँ एपमार्फत नेपाल टेलिकमका जीएसएम, सीडीएमए, पीएसटीएन र एडीएसएल लगायतका सेवाहरुको वारेमा जानकारी प्राप्त गर्न सकिन्छ ।
यो एपमा लग इन गर्नासाथ मोबाइलमा भएको ब्यालेन्स रकम तथा नेपाल टेलिकमको प्याकेज खरिद गरेको भए सोबारे जानकारी प्राप्त गर्नसकिने टेलिकमले जनाएको छ । पछिल्लो अवस्थामा विभिन्न प्रकारका प्याकेज खरिद गरी सेवा उपभोग गर्ने प्रचलन बढ्दै गएकाले विशेष गरी त्यस्ता प्याकेज खरिद गर्नका लागि यो एपबाट सहज हुने छ ।
त्यसैगरी एफएनएफ सर्भिसबाट नेपाल टेलिकमका आफूले चाहेका ५ वटा नम्बरमा सस्तो दरमा कल गर्नका लागि सेवा सुचारु गर्न सकिन्छ । विभिन्न सेवाको लागि आवश्यक रकम रिचार्ज गर्न र जीएसएम प्रिपेडबाट ब्यालेन्स ट्रान्सफर गर्नसमेत यसबाट सहज हुन्छ ।
पिन कोड राखेर वा रिचार्ज कार्ड स्क्यान ९स्क्यान एन्ड्रोइडमा मात्र हुने) गरेर पनि यसबाट रिचार्ज गर्न सकिन्छ । यो एपमार्फत आफ्नो मोबाइलबाट नेपाल टेलिकमको कुनै अर्को मोबाइलमा विभिन्न प्याकेजहरु गिफ्ट दिन पनि सकिन्छ ।


