![]()
एजेन्सी,जेठ ।
हवाईमा ज्वालामूखी विस्फोटनपछि लगातार बगिरहेको लाभा अहिले समुद्रसम्म पुगेको छ । दुई हप्ताअघि विस्फोटन भएको किलाउ ज्वालामूखीले हवाइ टापूका दर्जनौँ घरहरु नष्ट पारिसकेको छ भने हजारौँ वासिन्दाहरु घर छोडेर जान बाध्य भएका छन् । तर गत हप्ताको नयाँ विस्फोटनपछि भने लाभाको गति झन तिव्र बन्न पुगेको बताइएको छ ।
त्यसैले अहिलेको नयाँ लाभा अझ बढी तातो र छिटो भएकाले यसले दक्षिणतर्फको समुद्रसम्म पुगि धुँवा र विभिन्न ग्यासहरुको ठूलो बादल बनाइरहेको डेलीमेलले उल्लेख गरेको छ । त्यसैले यस बादलका कारण टापूमा हाइड्रोक्लोरिक एसिड (तेजाब) को वर्षा हुने धेरै सम्भावना देखिएको छ भने अर्कोतर्फ सिसाजन्य पदार्थहरु पनि वर्षासँगै झर्ने बताइएको छ । त्यस्ता पदार्थहरु मानिसको आँखा र छालामा प्रवेश गरे गम्भीर असर पार्ने र दुषित हावाले स्वासप्रस्वास सम्बन्धी समस्या पनि निम्त्याउने विज्ञहरुले चेतावनी दिएका छन् । अहिलेसम्म २४ किलोमिटर बगिसकेको उक्त लाभा दक्षिणतर्फको समुद्रमा पुगेको हो ।
त्यसैले अहिले हवाईका सम्बन्धित निकायले हावाको बहावमा परिवर्तन आए लाभाको दिशा पनि बदलिन सक्ने भन्दै सबैतिर सचेत रहन आग्रह गरेको छ । त्यसैगरी नयाँ विस्फोनपछि अत्यन्तै विषालु मानिने सल्फर डाइअक्साइड ग्यासको उत्पति पनि पहिले भन्दा तीन गुनाले बढिसकेको बताइएको छ । यसैकारण अहिले फेरि सो क्षेत्र वरपर सबै घरहरु खािल गरि लाभाले पार गरेको हाइवे सडक पनि बन्द गरिएको छ ।


