Breaking News.... EverestOnlineKhabar
July 7, 2026

Loading

काठमाडौं । नेपाल राष्ट्र ब्याङ्कले विदेशबाट नेपाली कामदारले पठाउने रेमिट्यान्समा केही महिनायता सुधार आएको जनाएको छ। कामदारहरूले औपचारिक माध्यमबाट पैसा पठाउने क्रममा वृद्धि हुनु सुधारको एउटा कारण भएको अधिकारीहरूले बताएका छन्।

 हुण्डी जस्ता गैरकानुनी तरिकाले पैसा पठाउने प्रवृत्तिलाई समयमै रोक्न नसके पछिल्लो सुधार धेरै टिक्न नसक्ने एकजना पूर्वगभर्नरले बताए। केही समयअघिसम्म ओरालो लाग्न थालेको रेमिट्यान्स आम्दानी चालू आर्थिक वर्षको नौ महिनामा आइपुग्दा झण्डै ६ प्रतिशतले वृद्धि भएको राष्ट्र ब्याङ्कले जनाएको छ।

वैदेशिक रोजगारीमा जाने नेपाली कामदारहरू घट्ने क्रममा रहेको तथ्याङ्क सार्वजनिक भइरहँदा रेमिट्यान्स आम्दानी गत चैतसम्ममा झण्डै ५४० अर्ब रूपैयाँ पुगेको छ। कतिपय मुलुकबाट पैसा पठाउने प्रणालीमा सुधार र पछिल्लो सुनकाण्डका कारण हुण्डी कारोबारमा कमी आएकोले पनि रेमिट्यान्स आम्दानीमा सुधार भएको राष्ट्र ब्याङ्कका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले बताए।

उनले भने, “पहिले २० देखि २५ डलरमा ब्याङ्कबाट पैसा पठाउनेहरूले अहिले मनि ट्रान्सफर खुलेपछि ६-७ डलरमा पैसा पठाउन थालेका छन्। अर्को कुरा हालै पर्दाफास भएको सुनकाण्डको संयन्त्र तहसनहस भएकोले पनि विप्रेषण आम्दानी बढेको हो।”

रेमिट्यान्स आम्दानी बढ्नुमा अमेरिकी डलर र मलेसियन रिङ्गेटको दरमा वृद्धि हुनुलाई पनि अर्को कारण मानिएको छ। सरकारले संस्थागत रूपमा रकम भित्र्याउन विनिमय दरमा छुट र सेवा शुल्क कम गर्न आवश्यक नीतिमा समेत सुधार गर्नुपर्ने विज्ञहरूको सुझाव छ।

सरकारले हुण्डीमार्फत हुने कारोबारलाई ब्याङ्कको प्रणालीमा ल्याउन नसकेमा उक्त सुधार दिगो नहुने एकजना पूर्वगभर्नर दिपेन्द्रबहादुर क्षेत्रीको भनाइ छ। उनले भने, “यो बढेको पनि हामीले आफैँले गरेको कारणले हो जस्तो मलाई लाग्दैन। विदेशबाट पठाउने रकम हुण्डीबाट पठाउँदा छिटो पाइन्छ भन्ने छ। ब्याङ्किङ क्षेत्रमा सुधार गर्नसक्ने हो भने विप्रेषण प्राप्ति बढ्छ भन्ने मलाई लाग्छ।”

देशको कुल गार्हस्थ उत्पादनको झण्डै एक तिहाई रकम वैदेशिक रोजगारीमार्फत आउने गरेको छ। खाडी राष्ट्रको तुलनामा भारत र दक्षिण कोरियाबाट गैरकानूनी हुण्डीमार्फत ठूलो रकम भित्रिँदा राजश्व आयमा अर्बौँ रूपैयाँको नोक्सानी भइरहेको बताइन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.