![]()
काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल बिद्यार्थी संघ भारतीय सांसद कीर्ति आजादबिरुद्ध आन्दोलित भएको छ । आजादले नेपाललाई भारतमै गाभ्नुपर्ने अभिव्यक्ति दिँदै ट्वीट गरेकोप्रति नेपाल विद्यार्थी संघ आन्दोलित भएको हो।
सांसद आजादले दुई देशबीच सदियौंदेखि रहँदै आएको सुमधुर सम्बन्धमा खलल पुर्याउने अभिप्रायले अभिव्यक्ति दिएको भन्दै त्यसको बिरोधमा नेबिसंघले नेपालस्थित भारतीय दुतावास अगाडि धर्नासहित प्रदर्शन गरेको छ ।

बिरोधसभालाई सम्बोधन गर्दै नेबिसंघका अध्यक्ष नैनसिंह महरले भने, ‘ बिजेपीका सांसद आजादको अभिव्यक्ति निन्दनीय छ । भारतीय प्रधानमन्त्री मोदीलार्ई दुतावासमार्फत जानकारी रहोस, दुतावासका सूचनाका स्रोतले खबर लगिदिए हुन्छ–जबसम्म आजादलाई कारवाही गरेको प्रमाण भेटिदैन, तबसम्म भारतको संस्थापन पक्षसंग हामी असन्तुष्ट रहन्छौं, कारवाहीको माग जारी राख्ने छौं । ’
अध्यक्ष महरले नेपालमै कहिले कम्युनिष्ट त कहिले राष्ट्रवादका नाममा बिदेशी हस्तक्षेप निम्त्याउने गरिएको तथ्य यो पटक प्रधानमन्त्री केपी ओलीले पनि पुष्टि गरेको बताए । उनले ओली भारतीय जासुसी संस्था ‘रअ’ को एजेन्ट भएको कुरा चार बर्ष अघि प्रकासित पुस्तक प्रयोगशालाको पहिलो पानामा नै उल्लेख भएको स्मरण गरे ।
अध्यक्ष महरले भारतीय प्रधानमन्त्री मोदीको अभिनन्दनका क्रममा प्रदेश नम्बर २ मा नेपाली राष्ट्रिय झण्डा तोडमोड गरिनु भवितव्य नभइ कर्तव्य सम्झेर गरेको आरोप पनि लगाए । उनले राष्ट्रियताका बिषयमा भएका गल्ती तत्काल सच्याउने काम नभए नेबिसंघ आफै अघि बढने चेतावनी पनि दिए ।
नेबिसंघले लैनचोरसहित उपत्यकाका बिभिन्न क्याम्पस अगाडि प्रदर्शन गरेको थियो ।

