![]()
बीबीसी। उत्तर कोरियाले दक्षिण कोरियासँग समान समय मिलाउनका लागि आफ्नो समय परिवर्तन गरेको छ । उत्तर कोरियाले आफ्नो समयमा ३० मिनेट परिवर्तन गरी दक्षिण कोरियासँग समान समय बनाएको हो ।
दक्षिण कोरिया र उत्तर कोरियाबीचको ऐतिहासिक शिखर वार्ताको सफलतापछि उत्तरले गरेको निर्णयलाई पहिलो व्यवहारिक कदमका रुपमा लिइएको बीबीसीले उल्लेख गरेको छ ।
हालै उत्तर कोरियाका नेता किम जोङ उनले दक्षिण कोरियाको भ्रमण गर्दा टाइम जोन समान बनाउने, परमाणु परीक्षण स्थल बन्द गर्नेलगायतका सहमति भएका थिए ।
उत्तर कोरियाको सरकारी समाचार एजेन्सी केसीएनले ऐतिहासिक उत्तर–दक्षिण शिखर बैठकपछि टाइम जोन मिलाउनु पहिलो व्यवहारिक कदम भएको जनाएको छ । यसले उत्तर एवं दक्षिण कोरियालाई एक बनाउने प्रक्रियालाई तीव्रता दिन सकिने विश्वास पनि उसले लिएको छ ।
गत अप्रिलको अन्त्यमा भएको कोरियाली शिखर वार्तापछि उत्तर कोरियाले आपसी सम्बन्ध थप मजबुत बनाउनका लागि आफ्नो घडीलाई ३० मिनेट छिटो गराएर दक्षिण कोरियासँग मिलाउने निर्णय गरेको थियो । सन् २०१५ देखि उत्तर र दक्षिण कोरियाको टाइम जोन अलग–अलग भएको थियो । त्यस समय उत्तर कोरियाले आफ्नो मानक समयलाई दक्षिण कोरियाको भन्दा ३० मिनेट ढिलो गरेको थियो ।


