![]()
बीबीसी। अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र दक्षिण कोरियाका राष्ट्रपति मून जे-इनले मे २२ मा ह्वाइट हाउसमा वार्ता गर्ने भएका छन्। ट्रम्प र उत्तर कोरियाका नेता किम जङ-अनबीच मेको अन्त्य वा जुनमा हुने ठानिएको बैठकअघि दुई नेताबीच यो भेटवार्ता हुन लागेको हो। यसअघि ट्रम्पले बैठकका लागि समय र स्थान तय भएको बताएका थिए। तर त्यसबारे थप विवरण भने खुलाएका थिएनन्। उनले अमेरिकाले प्योङयाङसँग यसबारे विस्तृत वार्ता गरिरहेको र उत्तर कोरियामा हिरासतमा रहेका अमेरिकी नागरिकहरूलाई के भयो भन्ने विषयमा धेरै छलफल भइरहेको बताएका थिए।
अमेरिकी पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले किमलाई भेट्नका लागि मिति र स्थान तय भइसकेको र त्यसबारे छिट्टै घोषणा गरिने बताए। उनले उक्त भेटबाट धेरै राम्रा कुराहरू हुने अपेक्षा राखेको पनि बताए। तर त्यसअघि उक्त बैठकबारे छलफल गर्न ट्रम्पले मे २२ मा दक्षिण कोरियाली राष्ट्रपति मून जे-इनलाई ह्वाइट हाउसमा भेट्न लागेका छन्।

ट्रम्पले यसअघि भेटका लागि उत्तर कोरिया र दक्षिण कोरियाबीचको सैन्य कारबाही प्रतिबन्धित गरिएको क्षेत्रमा भेट्न उचित हुने धारणा राखेका थिए। तर सँगै सिंगापुर पनि एउटा विकल्प हुन सक्ने बताएका थिए। अमेरिकाको मुख्य उद्देश्य उत्तर कोरियाको पारमाणविक निश्शस्त्रीकरणलाई सुनिश्चित गर्नु हो।
दुइ नेताबीच प्रत्यक्ष भेट हुनुअघि उत्तर कोरियामा थुनामा परेका तीन अमेरिकी नागरिकको रिहाइका लागि पनि छलफलहरू जारी रहेको ठानिएको छ। तर उनले वार्ताको एउटा हिस्साको रूपमा दक्षिण कोरियाबाट अमेरिकी दस्तालाई निकाल्न सकिने भन्ने विषयबारे उनले सोचिरहेको बुझाइ चाहिँ अस्वीकार गरे।


