Breaking News.... EverestOnlineKhabar
March 5, 2026

मधेसमा स्थानीय तह थप्न नयाँ मापदण्ड बनाईदै

Loading

काठमाडौ,१५ बैशाख ।
प्रमुख प्रतिपक्षसँग स्थानीय तहको संख्या नबढाउने सहमति गरेको सरकारले बिहीबार मधेसी मोर्चालाई संख्या थपका लागि मापदण्ड बनाउन सहमत गराएको छ। सत्ता गठबन्धन र एमालेबीच बुधबार स्थानीय तहको संख्या थप गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्ने सहमति भएपछि मधेसी मोर्चाका नेताले बिहीबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेका थिए।
११ जिल्लामा स्थानीय तह थप्ने सरकारको प्रयासबाट आक्रोशित एमालेले संसद् अवरोध गरेको थियो। सरकार आफ्नो निर्णयबाट पछि हटेपछि बुधबार एमालेले संसद् चल्न दिएको थियो।सरकार र मधेसी मोर्चाबीच दुई नम्बर प्रदेशका सप्तरी, सिरहा, धनुषा, सर्लाही, महोत्तरी, रौतहट, बारा, पर्सा तथा ५ नम्बर प्रदेशका नवलपरासी, रूपन्देही र कपिलवस्तुमा नयाँ मापदण्ड बनाई स्थानीय तहको संख्या थप्ने सहमति भएको थियो।
मोर्चासँगको बिहीबार बिहानको भेटमा प्रधानमन्त्री दाहालले एमालेसँग संख्या थप्ने निर्णय फिर्ता लिने सहमति नभएको भन्दै आश्वस्त पार्ने प्रयास गरेका थिए। प्रधानमन्त्रीको भनाइमा मोर्चाले विश्वास नगरेपछि सरकारले सर्वदलीय बैठक डाकेको थियो।सर्वदलीय बैठकमा सत्ता गठबन्धनमा सहभागी दल, मोर्चा र प्रतिपक्षी एमालेका नेताहरू सहभागी थिए।
बैठकमा स्थानीय विकासमन्त्री कमल थापा, कानुनमन्त्री अजयशंकर नायक, रक्षामन्त्री बालकृष्ण खाँड र मोर्चाका तर्फबाट लक्ष्मणलाल कर्ण, सर्वेन्द्रनाथ शुक्ला, लालबाबु राउत, रेणु यादव, केशव झा तथा प्रमुख प्रतिपक्षी दलबाट अग्नि खरेल र भानुभक्त ढकाल सहभागी थिए। मन्त्रिपरिषद्द्वारा गठित स्थानीय विकासमन्त्री थापा संयोजकत्वको समितिले नै जनसंख्यालगायत आधारलाई मापदण्ड मानेर संख्याबारे टुंगो लगाउन मोर्चा सहमत भएको हो।
बैठकमा सहभागी मोर्चाका नेता कर्णले स्थानीय तहको संख्या निर्धारणको मापदण्ड बनाउन संघीय मामिला तथा स्थानीय विकासमन्त्रीको संयोजकत्वमा गठन भएको समितिलाई जिम्मा दिने सहमति भएको जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.