![]()
काठमाडौ,१५ बैशाख ।
न्यायपरिषद्ले हालै सर्वोच्चको बृहत इजलासले जारी गरेको परमादेशविपरीत वरिष्ठतम चारजना न्यायाधीशलाई बिहीबार संवैधानिक इजलासको सदस्य तोकेको छ । प्रधानन्यायाधीश सुशीला कार्कीलगायत वरिष्ठ न्यायाधीशहरु गोपाल पराजुली, ओमप्रकाश मिश्र, दीपक जोशी र देवेन्द्र गोपाल श्रेष्ठ सदस्य हुनेछन् ।
प्रधानन्यायाधीश कार्की, पराजुली र मिश्र पहिलादेखि नै संवैधानिक इजलासका न्यायाधीश रहे पनि विगत एक वर्ष र १४ दिनदेखि दुई रिक्त सदस्य नियुक्त नहुँदा इजलास व्यवहारिक अस्तित्वमा थिएन । परिषद्ले बिहीबार जोशी र श्रेष्ठको नाम सिफारिस गरेको हो ।
बृहत इजलासले अघिल्लो साता जारी गरेको परमादेशमा १५ दिनभित्र प्रधानन्यायाधीशलाई संवैधानिक इजलास गठनमा तजबिजी अधिकार उपलब्ध हुने गरी चारभन्दा बढी न्यायाधीशको नाम सिफारिस गर्न भनिए पनि बिहीबारको न्यायापरिषद् बैठकले उक्त परमादेशको साटो परम्पराअनुसार वरिष्ठतम चारजनालाई नै इजलासमा तोक्ने निर्णय गरेको छ ।


