![]()
काठमाडौं । विदेशमा रहेका नेपालीलाई स्वदेश फर्काउने अभियान सुरु भएको छ ।
बुधबार ‘फोरेन रिटर्न नेप्लिज फर नेपाल’ (एफओआरइएनएन) नाम दिइएको अभियानको रक्षामन्त्री ईश्वर पोखरेलले एक समारोहका बीच शुभारम्भ गरे। पूर्व शिक्षामन्त्री गंगाधर तुलाधरद्वारा परिकल्पना गरेको यो अभियानको उद्देश्य पढाई, रोजगार आदिका क्रममा विदेशिएका नेपालीहरुलाई स्वदेश फर्किन उत्प्रेरित गर्ने रहेको छ।
साथै नेपालभित्र र विश्वभर छरिएर रहेका सम्पूर्ण नेपालीलाई राष्ट्रियताको सुत्रमा एकीकरण गरी सबैलाई आर्थिक रुपमा समृद्ध र विकसित नेपाल बनाउन अग्रसर गराउने लक्ष्य पनि अभियानले बोकेको छ। कार्यक्रमलाई सम्बोधन गर्दै रक्षामन्त्री पोखरेलले मुलुकको विकास र समृद्धिका लागि आवश्यक नयाँ पहलकदमी प्रारम्भ भएको बताए। देशको स्थितीबाट निराश भएर विदेशिने बाध्यताको अन्त्य गर्नुपर्नेमा मन्त्री पोखरेलको जोड थियो ।
फोरेन अभियानका संयोजक एवं पूर्व शिक्षामन्त्री तुलाधरले देशमा समृद्धि र आर्थिक विकासको समय आएको र मुलुकमा योगदान गर्नेको खाँचो भएकाले प्रवासी नेपाली स्वदेश फर्किनुपर्ने बताए। ‘विदेशमा पढे, कमाए। देशमा केही गरौं भन्ने भावना छ, उनीहरुलाई फर्काउ। राष्ट्रप्रतिको मोहले फर्किन चाहन्छन्। सरकारलाई सहयोगी होस भनेर अभियान चलाएका हौं’, उनले भने– ‘समृद्धिमा बाहिर रहेका नेपालीले योगदान दिन सक्छन्। हामी सबैले देश बनाउने अठोट गर्नुपर्छ। जे क्षमता छ त्यही योगदान गरौं।’ अवसर सिर्जना गर्नका लागि प्रवासीलाई आफूले सिकेको सीपसहित स्वदेश फर्किन आह्वान गर्दै उनले थपे– ‘देश फर्किनुस्, पैसा बोकेर आउनुस्, लगानी गर्नुस्, वातावरण हामी बनाउँछौं।’
कार्यक्रममा माधव बराल, महावीर पुनसहित केही सामाजिक व्यक्तिलाई सम्मान गरिएको थियो।


