![]()
बीबीसी । भारतमा वैवाहिक समारोहका लागि जाँदै गरेका व्यक्तिहरु चढेको मिनिट्रक दुर्घटना हुँदा २१ जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् ।
मिनिट्रक मध्य प्रदेशमा पर्ने नदीमा पुलबाट तल खसेर दुर्घटना भएको प्रहरी अधिकारीहरुले जानकारी दिएका छन् । मध्य प्रदेशको राजधानी भोपालदेखि ५७३ किलोमिटर टाढा पर्ने सिद्धि जिल्लामा रहेको सोने नदीमा मिनिट्रक खसेको हो ।
घाइतेहरुलाई स्थानीय अस्पतालहरुमा भर्ना गरेर उपचार गरिएको छ । घाइतेमध्ये तीनजनाको अवस्था गम्भीर रहेको अस्पतालका अधिकारीहरुले बताएका छन् । सरकारी अधिकारीहरुले उद्धारकार्य सम्पन्न भएको जनाएका छन् । मध्य प्रदेशका मुख्यमन्त्री शिवराजसिंह चौहानले घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै घटनामा ज्यान गुमाएका व्यक्तिका परिवारजनलाई राहत रकमकोसमेत घोषणा गरे ।
दुर्घटनाकाबारेमा थप अनुसन्धान गर्न र दोषीलाई कारबाही गर्न पनि मुख्यमन्त्री सिंहले निर्देशन दिएका छन् । भारतमा यस्ता दुर्घटनाका घटना धेरै हुने गरेको र दुर्घटनाका कारण सयौंको मृत्यु हुने गरेको छ ।
भारत अत्यधिक मात्रामा सवारी दुर्घटना हुने देशहरुमध्येमा अग्रस्थानमा पर्छ ।


