![]()
काठमाडौं । एशियाली फुटवल महासंघ ए.एफ.सीको आदेशपछि अखिल नेपाल फुटवल संघ एन्फाले निर्वाचनबारे कानुनी परामर्श शुरु गरेको छ । एएफसीले निर्वाचन समितिलाई स्वतन्त्रतापूर्वक काम गर्न दिन र चुनावी प्रकृया चाँडोभन्दा चाँडो थाल्न निर्देशनात्मक पत्र लेखेको थियो । एन्फाका प्रवक्ता सन्जिव मिश्रका अनुसार कानूनी सल्लाहकार र निर्वाचन समितिका पदाधिकारीसँग एन्फा अध्यक्ष नरेन्द्र श्रेष्ठले छलफल गर्दै हुनुहुन्छ ।
भक्तपुर र मकवानपुरका प्रतिनिधिको उजुरीपछि उच्च अदालत पाटनले निवेदनको अन्तिम टुङ्गो नलागेसम्म निर्वाचन नगर्न र नगराउन गत चैत ८ मा अन्तरिम आदेश दिएको थियो । त्यसयता दुबै जिल्लामा चुनाव सम्पन्न भइसकेको छ । दुई जिल्लामा भएका अधिवेशनका बारेमा अदालतमा जानकारी नभएकाले त्यसअघि निर्वाचनको मिति घोषणा गर्न कानूनी अप्ठेरो रहेको प्रवक्ता मिश्रले बताउनुभयो ।
उच्च अदालतले बाटोको म्यादबाहेक १५ दिनभित्र लिखित जवाफ पेश गर्न भने पनि एन्फाले अझै बुझाएको छैन । लिखित जवाफ तयार भइसकेको र केही दिनमै पेश गरिने मिश्रले जानकारी दिनुभयो । उच्च अदालतबाट अन्तिम निर्णय आउनुअघि निर्वाचनको मिति घोषणा नगर्ने पक्षमा एन्फा नेतृत्व छ । अध्यक्षका प्रत्यासी कर्मा्छिरिङ्ग शेर्पाले भने तत्काल मिति घोषणा गरेर निर्वाचनबारेको अन्यौल चिर्नुपर्ने माग गर्नुभएको छ ।


