![]()
काठमाडौ, बैशाख ।
संसद्को सबैभन्दा ठूलो दल कांग्रेसले स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै बर्सेनि तीन लाखभन्दा बढीलाई रोजगारी दिनेदेखि बर्सेनि एक खर्ब विदेशी लगानी ल्याउनेसहितका महत्वाकांक्षी योजनासहितको निर्वाचन घोषणापत्र ल्याएको छ ।
३१ वैशाखको निर्वाचन आउन १९ दिन मात्र बाँकी हुँदा कांग्रेसले मंगलबार जारी गरेको घोषणापत्र सरकारको नीति, कार्यक्रम र बजेटजस्तै छ । केन्द्रीय कार्यालय सानेपामा आयोजित कार्यक्रमा सभापति शेरबहादुर देउवाले समग्र जनतालाई स्थानीय शासनमा बलियो बनाउने र जनताको पहुँच बढाउने गरी ल्याइएको घोषणापत्रले सफलता प्राप्त गर्ने बताए ।‘कांग्रेसको नेतृत्वमा नयाँ संविधान–कांग्रेसकै नेतृत्वमा समृद्धिको अभियान’ लाई मूल नारा मान्दै कांग्रेसले राजनीतिक परिवर्तनमा आफ्नो अमूल्य योगदान रहेको र अब राजनीतिक परिवर्तनका मुद्दालाई संस्थागत गर्न नेतृत्व प्रदान गर्ने जनाएको छ ।
कांग्रेसले आफूलाई सामाजिक परिवर्तनको प्रेरक मान्दै प्रमुख प्रतिपक्षी दल एमालेलाई असहिष्णु र उग्र राष्ट्रवादी भनेको छ । संविधान निर्माणदेखि नै एमाले असहिष्णु र आक्रामक भएको आरोप कांग्रेसको छ । एमालेकै अतिवादी सोच र अडानले तराई–मधेसको आन्दोलन झनै चर्केको कांग्रेसको आरोप छ । कांग्रेसले देशको राजनीति मुठभेडमा पुग्दा पनि माओवादी केन्द्रले दृढसंकल्प र लोकतान्त्रिक बाटो पहिल्याउन नसकेको आरोप लगाएको छ । माओवादी द्वन्द्वकालीन प्रवृत्ति र घटनाको प्रभावबाट मुक्त हुन नसकेको र सत्ताको लाभ खोज्ने प्रवृत्ति भएको कांग्रेसको आरोप छ ।
मधेसी दल हठी भएको तथा मधेसका जनतालाई निर्मम आन्दोलनमा होमेर राजनीतिक संवाद र सहमतिलाई परिणाममुखी बन्न नदिएको अरोप लगाएको छ । मधेसी दलले सामाजिक सद्भाव बिथोलेर सीमासम्म आन्दोलन फैलाएर अतिवादी सोच र प्रवृत्तिलाई बल पु¥याएको आरोप पनि छ । नयाँ संविधानलाई निष्ठापूर्वक स्वीकार नगर्ने प्रवृत्तिले राप्रपालाई अवसरवादी तथा सत्ता राजनीतिको दलदलमा फसाएको कांग्रेसको निष्कर्ष छ ।


