![]()
काश्की । प्रदेश ४ को प्रदेशसभाको बैठक सोमबार पोखरामा हुँदैछ । बैठकमा सहभागी हुन प्रदेश ४ अन्तर्गतका जिल्लाबाट कतिपय प्रदेशसभा सदस्य काश्की पुगिसकेका छन ।
प्रदेश ४ मा गोरखा, लमजुङ, कास्की, तनहुँ, स्याङ्जा, नवलपरासी, मुस्ताङ, म्याग्दी, बागलुङ, पर्वत र मनाङ जिल्ला पर्छन्। सोमबारको बैठकको तयारीस्वरुप बसेको सर्वदलीय बैठकले पुरुष तथा महिला सदस्यलाई तीन प्रकृतिको पोशाक निर्धारण गरेको छ ।
बैठकमा पुरुष सदस्यले दौरासुरुवाल र कोट वा सुटप्यान्टस वा आआफ्नो जातीय पहिचानको सांस्कृतिक पोशाक लगाउनुपर्ने व्यवस्था गरिएको छ। त्यस्तै महिला सदस्यका लागि साडीचोलो वा सुटप्यान्टस वा जातीय पहिचानको सांस्कृतिक पोशाक निर्धारण गरिएको छ।
सोमबारको बैठकमा संसदीय परम्परानुरुप प्रदेश प्रमुखले संसद् बैठक आह्वान गरेको सूचना पढ्ने, आन्तरिक कार्य्विधि पारित गर्ने, सभामुखको अनुपस्थितिमा अध्यक्षता गर्ने व्यक्ति रहेको अध्यक्षमण्डल चयन गर्नेलगायत विषयमा सहमति भएको छ । प्रत्येक ठूला दलबाट तीन तीन (कम्तीमा एक महिलासहित) र साना दलबाट एक एक गरी ११ जनाले मन्तव्य दिने सहमति दलबीच भएको छ ।


