![]()
एजेन्सी,माघ ।
फ्रेन्च लिग फुटबल लिग वनमा शीर्ष स्थानको पेरिस सेन्ट जर्मेन (पिएसजी) ले सहज जित निकालेको छ । शनिबार राति भएको खेलमा पिएसजीले लिलीलाई ३ – ० ले पराजित गरेको हो । लिलीको घरेलु मैदानमा भएको खेलमा पिएसजीलाई जित दिलाउन युरी ब्रेचिचे, नेयमार र जियोभानी लो सेल्सोले समान एक एक गोल गरे । पहिलो हाफको अन्तिम मिनेटमा युरीले गोल गर्दै पिएसजीलाई सुरुवाती अग्रता दिलाएका थिए ।
पहिलो हाफमा १ – ० ले अघि रहेको पिएसजीले दोस्रो हाफमा थप दुई गोल गर्यो । खेलको ७७ औं मिनेटमा नेयमारले गोल गर्दै पिएसजीको अग्रता दोब्बर बनाए । त्यसपछि खेलको ८७ औं मिनेटमा जियोभानीले गोल गर्दै पिएसजीलाई ३ – ० को सहज जित दिलाए । यो जितसँगै पिएसजीले फ्रेन्च लिगको उपाधि जित्ने सम्भावना बलियो बनाएको छ । जितपछि पिएसजीले २४ खेलबाट ६२ अंक बनाएको छ । पिएसजी दोस्रो स्थानको मार्सेलीभन्दा ११ अंकले अघि छ । पराजित लिली २५ अंक जोडेर लिगको १७ औं स्थानमा छ ।


