Breaking News.... EverestOnlineKhabar
April 30, 2026

Loading

उत्तर कोरियाले कोरियाली प्रायद्वीपमा उत्तेजनात्मक गतिविधि नगर्न अमेरिकालाई चेतावनी दिंदै कुनै कारबाही गरिए परमाणु अस्त्रले जवाफ दिने बताएको छ।

आफ्ना संस्थापक नेता किम इल सङको १०५ औँ जन्मदिन मनाइरहँदा उत्तर कोरियाको पछिल्लो भनाइ आएको हो।

सैन्य सामर्थ्य प्रस्तुत गर्ने क्रममा शनिबार प्योङयाङले सैनिक, ट्याङ्क तथा सैन्य सामाग्रीहरुको परेड आयोजना गरेको थियो।

उत्तर कोरियाली नेता किम जोङ उनले नयाँ परमाणु परीक्षणको आदेश दिने अड्कलबाजीमाझ उक्त प्रदर्शनी गरिएको हो।

चेतावनी

“हामी कुनै पनि पूर्ण प्रकृतिको युद्धलाई त्यसै अनुसारको जवाफ दिन तयार छौँ, ” उत्तर कोरियाली सैनिक अधिकारी चोइ र्योङ हेइले भने, “कुनै पनि परमाणु आक्रमणको जवाफ हामी आफ्नै शैलीको परमाणु हमलाबाट दिन तयार छौँ।”

अमेरिकासँगको चुलिँदो तनावले द्वन्द्व निम्त्याउनसक्ने चिन्ता व्यक्त भइरहँदा शनिबार आयोजित कार्यक्रममा भव्य रुपमा सैन्य शक्ति प्रदर्शन गरिएको थियो।

शहरको केन्द्रमा रहेको किम इल सङ स्क्वायरमा सैनिकहरुले कवाज र ‘मार्च पास’ प्रदर्शन गरेका थिए।

प्रदर्शनीमा पहिलोपटक पनडुबीबाट मार हान्न सक्ने ब्यालेस्टिक क्षेप्यास्त्र पनि देखाइएको थियो।

उक्त क्षेप्यास्त्रको क्षमता अभिवृद्धि गरी त्यसलाई विश्वको कुनै पनि निशानमा मार हान्न सक्ने बनाउन सकिने बताएको छ।

मौका

उत्तर कोरियाको सफलतापूर्वक परमाणु हतियार निर्माण गर्ने क्षमता बढ्दै गएको भन्ने चिन्ताका माझ शनिबारको प्रदर्शनीलाई आफ्नो सैनिक सामर्थ्य बाहिरी विश्वसामू प्रस्तुत गर्ने मौकाका रुपमा प्रयोग गरिएको देखिन्छ।

अमेरिकाबाट निरन्तर परमाणु कार्यक्रम अन्त्य गर्न दबाब खेपिरहेको उत्तर कोरियाका लागि उसका कार्यक्रमको महत्व पछिल्लो सैन्य प्रदर्शनीले पनि स्पष्ट पारेको प्योङयाङमा रहेका बीबीसी संवाददाता जन सुडवर्थ बताउँछन्।

हालै अमेरिकी सेनाले एउटा युद्धपोत कोरियाली प्रायद्वीप नजिकै खटाएपछि उक्त क्षेत्रमा तनाव चुलिएको छ।

उत्तर कोरियाले पाँचवटा परमाणु परीक्षण गरिसकेको छ र श्रृंखलाबद्ध रुपमा क्षेप्यास्त्रहरुको परीक्षण गरिएको छ।

शुक्रबार चिनियाँ विदेशमन्त्री वाङ यीले ‘कुनै पनि समयमा द्वन्द्व शुरु हुन सक्ने’ भन्दै त्यस्तो अवस्थामा कसैले नजित्ने टिप्पणी गरेका थिए।

उत्तर कोरियाको एकमात्र साझेदार रहेको चीनले कुनै पनि द्वन्द्वले त्यहाँ सत्ता पलट गराउन सक्ने र आफ्नो सीमा क्षेत्रमा समस्या निम्त्याउन सक्ने ठान्दै आएको छ।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अघिल्लो साता चीनले सहयोग नगरे अमेरिका एक्लैले उत्तर कोरियाविरुद्ध कदम चाल्ने चेतावनी दिएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed