![]()
बिराटनगर । नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले आफू पार्टीको नेतृत्व लिने हिसाबले अघि बढिरहेको बताउनु भएको छ । प्रेस युनियन बिराटनगरले कोइराला निवास बिराटनगरमा गरेको पत्रकार सम्मेलनमा नेता कोइरालाले पार्टीको नेतृत्व लिन आफू सक्षम र लायक रहेको बताउनुभयो ।
नेता कोइरालाले पार्टीको सभापतिको तयारीस्वरुप अब हुने जिल्ला अधिवेशन तथा पार्टीका कार्यकर्ताको मनोभाव बुझ्न देश दौडाहामा निस्कने पनि जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘मुलुक संघीयतामा गई सकेपनि नेपाली काँग्रेसको संगठन संघीयतामा गएको छैन, अब त्यसतर्फ जान पनि सम्पूर्ण काम गर्न बाँकी छ ।’
कोइरालाले जनताले काँग्रेसलाई प्रतिपक्षमा बस्नका लागि म्यान्डेड दिएकोले सरकार बनाउने वा त्यसमा जाने भन्ने सोच्न नमिल्ने स्पष्ट पार्नुभयो । एमाले र माओवादीले नै सरकार बनाउनुपर्ने उहाँको भनाइ छ । अहिलेको अवस्था हेर्दा एमाले र माओवादी मिलेर एउटै कम्युनिष्ट पार्टी बन्ने सम्भावना कम रहेको बताउँदै उहाँले काँग्रेसले अब बन्ने सरकारको गुणदोषका आधारमा आफ्नो भूमिका निभाउने स्पष्ट पार्नुभयो ।


