![]()
काठमाडौ,१३ मंसिर ।
निर्वाचन आयोगले आसन्न प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचनमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको तस्बिर राखेर पत्रपत्रिकामा विज्ञापन गरेको भन्दै नेकपा एमालेसँग स्पष्टिकरण सोधेको छ । निर्वाचन आयोगका सहायक प्रवक्ता मुकुन्द शर्माले जारी गरेको विज्ञप्तिमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले निर्वाचन आचारसंहिता विपरित कान्तिपुर दैनिक, अन्नपूर्ण पोष्ट दैनिक, नयाँ पत्रिका दैनिक, नागरिक दैनिक र राजधानी दैनिक लगायतका पत्रिकामा पार्टी अध्यक्ष के.पी. शर्मा ओलीको तस्बिरसहित पार्टीको निर्वाचन चिन्हमा मतदान गरौं भनी विज्ञापन प्रकाशित गरेको विषयमा २४ घण्टाभित्र स्पष्टीकरण पेश गर्न नकेपा एमालेलाई निर्देशन दिएको जानकारी दिए ।
‘आसन्न प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचनको सन्दर्भमा निर्वाचन आयोगबाट लागू गरिएको निर्वाचन आचारसंहिता, २०७२ को दफा ५ को खण्ड ९ख१० को उपखण्ड (२) विपरित मिति २०७४।०८।१२ गतेका कान्तिपुर दैनिक, अन्नपूर्ण पोष्ट दैनिक, नयाँ पत्रिका दैनिक, नागरिक दैनिक र राजधानी दैनिक लगायतका पत्रिकामा तहाँ पार्टीका अध्यक्ष श्री के.पी. शर्मा ओलीज्यूको तस्वीरसहित पार्टीको निर्वाचन चिन्हमा मतदान गरौं भनी विज्ञापन प्रकाशित भएको विषयमा आयोगको ध्यानाकर्षण भएको छ । उक्त कार्य निर्वाचन आचारसंहिता विपरित भएको देखिँदा यहाँलाई कारवाही हुनु पर्ने हो, होइन ? पत्र प्राप्त भएको मितिले २४ घण्टाभित्र स्पष्टीकरण पेश गर्नुहुन अनुरोध छ’ एमालेलाई पठाएको पत्रमा भनिएको छ ।
त्यसैगरी ५ वटा दैनिक पत्रिकालाई यसरी कुनै पनि पार्टीको लागि मत माग गरिएको विज्ञापन किन प्रकाशित गरेको भन्दै स्पष्टिकरण माग गरिएको छ ।‘आसन्न प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचनको सन्दर्भमा निर्वाचन आयोगबाट लागू गरिएको निर्वाचन आचारसंहिता, २०७२ को दफा ५ को खण्ड (ख१) को उपखण्ड (२) विपरित तहाँबाट मिति २०७४।०८।१२ मा प्रकाशित दैनिक पत्रिकामा नेपाल कम्युनिस्ट पार्टी (
एमाले) का अध्यक्ष के.पी. शर्मा ओलीज्यूको तस्वीरसहित उक्त पार्टीको निर्वाचन चिन्हमा मतदान गरौं भनी विज्ञापन प्रकाशित भएको विषयमा आयोगको ध्यानाकर्षण भएको छ । उक्त कार्य गरेवापत यहाँलाई कारवाही हुनु पर्ने हो, होइन ? पत्र प्राप्त भएको मितिले २४ घण्टाभित्र स्पष्टीकरण पेश गर्नुहुन अनुरोध छ’ सहायक प्रवक्ता शर्माले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।


