![]()
काठमाडौं । राष्ट्रिय खेलकुद परिषद (राखेप) को सदस्य सचिवको जिम्मेवारी युवा तथा खेलकुद मन्त्रालयका सहसचिव राम चरित्र मेहताले सम्हाल्नु भएको छ। करिब एक हप्तादेखि रिक्त रहेको यस पदमा मन्त्रालयले अर्को व्यवस्था नभएसम्मका लागि सहसचिव मेहतालाई जिम्मेवारी दिएको हो।
युवा तथा खेलकुद मन्त्रालयको मंसिर १६ गतेको निर्णयअनुसार खेलकुद विकास ऐन २०७७ को दफा १७ को उपदफा १२ बमोजिम मेहतालाई सदस्य सचिवको जिम्मेवारी दिइएको हो। यसअघिका सदस्य सचिव टंकलाल घिसिङले आफ्नो चार वर्षे कार्यकाल मंसिर १२ गते पूरा गरी विदा लिएपछि यो पद रिक्त रहेको थियो।
सुशासन र पारदर्शी कार्यसम्पादनमा जोड
परिषदमा पदभार ग्रहण गर्ने क्रममा सदस्य सचिव मेहताले कर्मचारीहरूलाई सुशासन र पारदर्शी रुपमा कानुनसम्मत कार्य सम्पादन गर्न निर्देशन दिनुभयो। आफू पदमा रहुन्जेल परिषदमा नमूना योग्य काम गर्ने प्रतिबद्धता पनि उहाँले व्यक्त गर्नुभयो।
प्रमुख दायित्व: दशौं राष्ट्रिय खेलकुद र संगठन संरचना
परिषदका कार्यकारी समितिका सदस्य कमल बहादुर भट्टराई र कर्मचारी संघका अध्यक्ष सरस्वती केसीले नवनियुक्त सदस्य सचिवलाई दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी र संगठन संरचना तथा व्यवस्थापन सर्वेक्षण (O&M Survey) लगायतका कार्यहरू प्रमुख दायित्व भएको जानकारी गराउनु भएको थियो।
स्वागत कार्यक्रम
मेहतालाई परिषदमा कार्यकारी समिति सदस्यहरू कमल भट्टराई, भान बहादुर चन्द लगायत बोर्ड सदस्यहरू, परिषदका विभाग तथा शाखा प्रमुखहरू र कर्मचारीहरूले स्वागत गरेका थिए।


