![]()
काठमाडौँ,असाेज ९ — नेपाल क्रिकेट संघ (क्यान) को तालिकाअनुसार आयरल्यान्ड उल्भससँगको खेलपछि नेपालको सन् २०२३–२४ को क्यालेन्डर पूरा हुने थियो । भारतको गुजरातमा केही समय तयारी गरेपछि नेपाली टोलीको पालो थियो ओमानमा एसिया कप छनोट अनि अमेरिका र वेस्ट इन्डिजमा विश्वकप खेल्ने ।
आयरल्यान्ड उल्भसको नामले खेलिरहेको आयरल्यान्ड ‘ए’ सँग नेपालले दुई खेल खेलेको थियो । दोस्रो खेलपछि नेपालका तत्कालीन प्रशिक्षक मोन्टी देसाईलाई प्रश्न सोधिएको थियो, ‘क्यान क्यालेन्डरअनुसार घरेलु मैदानमा नेपालको सबै प्रतियोगिता सकिएका छन्, एसिया कप छनोट र विश्वकपजस्ता दुई प्रमुख प्रतियोगिता खेल्नुअघि नेपालको तयारी कस्तो भएजस्तो लाग्छ ?’
मोन्टीले त्यही एउटा ‘ब्रेकिङ न्युज’ फालिहाले, ‘एसिया कप खेल्न जानु अघि अझ एउटा ठूलो शृंखला हुनसक्छ, तर त्यो निश्चित हुन बाँकी छ ।’ सबै अनुमानतिर लागे । धेरैले अफगानिस्तान, आयरल्यान्डको नाम लिए । तर अन्त्यमा क्यानले पुष्टि गर्यो, वेस्ट इन्डिज ‘ए’ को नेपाल भ्रमणमा पाँच ट्वान्टी–२० खेल हुने । वेस्ट इन्डिजसँग नेपाली क्रिकेटको सम्बन्धको यो पहिलो ड्राफ्ट जस्तै रह्यो ।
शारजहाँमा तीन ट्वान्टी–२० शृंखला खेलेपछि नेपाल र वेस्ट इन्डिजको क्रिकेट सम्बन्धमा पुनः नवीकरण हुनेछ । नेपालले वेस्ट इन्डिजविरुद्ध सेप्टेम्बर २७, २९ र ३० मा गरी तीन ट्वान्टी–२० अन्तर्राष्ट्रिय खेल खेल्नेछ । यो शृंखला महत्व यत्तिमै सीमित छैन । नेपालले आईसीसीबाट मान्यता पूर्ण राष्ट्रसँग खेल्न लागेको यो पहिलो शृंखला हो ।
गत वर्ष वैशाखमा रोस्टन चेजको नेतृत्वमा ५ खेलको ट्वान्टी–२० शृंखला खेल्न नेपाल आएको वेस्ट इन्डिज ‘ए’ टोली पनि कम्तीको थिएन । वेस्ट इन्डिजले शृंखला ३–२ ले जित्यो । नेपालका कप्तान रोहित पौडेलले अन्तिम खेलमा ४७ बलमै शतक बनाएपछि नेपालले २ सय ५ रनको लक्ष्य पूरा गरेको थियो । कप्तान चेजसहित जोहनसन चार्ल्स र गुडाकेश मोटीले ट्वान्टी–२० विश्वकपमा स्थान बनाएका थिए । सागर ढकाल र दीपेन्द्रसिंह ऐरीले नेपालको विश्वकप टोलीमा स्थान पाएका थिए ।
झन्डै ९ हजार माइल दुरीमा रहेका नेपाल र वेस्ट इन्डिजको सम्बन्ध जोड्ने दूतमा तत्कालीन प्रशिक्षक मोन्टी पनि एक हुन् । २०२३ को फेब्रुअरीमा मोन्टी नेपालको प्रशिक्षक भएर आए । त्यसअघि मोन्टी दुई वर्ष वेस्ट इन्डिजकै ब्याटिङ परामर्शदाता थिए । वेस्ट इन्डिज ‘ए’ को टोली काठमाडौं आउँदा मोन्टी आफ्नो पुरानै टोलीसँग झुम्मिएका भेटिन्थे । लाग्थ्यो, उनको नेपालसँग जत्तिको प्रेम वेस्ट इन्डिजको टोलीमा पनि थियो ।
मोन्टीकै प्रशिक्षणमा नेपालले १० वर्षपछि ट्वान्टी–२० विश्वकपमा पुनरागमन गरेको थियो । नेपाल त्यो ट्वान्टी विश्वकप खेल्न वेस्ट इन्डिजको टापु सेन्ट भिन्सेन्ट एन्ड ग्रेनाडाइन्स पुगेको थियो । पहिलो दुई खेल अमेरिकामा खेलेको अवस्थामा सेन्ट भिन्सेन्टमा दक्षिण अफ्रिका र बंगलादेशसँगको अन्तिम दुई खेलमा घरेलु समर्थकले नेपालको पक्षमा बलियो समर्थन गरेका थिए । दुवै खेलमा विजय नजिक पुगेर नेपाल विमुख भयो ।


