![]()
२०७६ फागुन २८, काठमाडौँ – नेपाली किशोर खेलाडी प्रिन्स दाहाल जुनियर ब्याडमिन्टनको विश्व वरियतामा सातौँ स्थानमा पुगेका छन् । विश्व ब्याडमिन्टन महासंघले जारी गरेको विश्वका १९ वर्ष मुनीका खेलाडीको पछिल्लो वरियतामा प्रिन्स शीर्ष सातमा अँटाएका हुन् । कुनैपनि स्तरको अन्तर्राष्ट्रिय वरियतामा नेपाली ब्याडमिन्टन खेलाडीले हात पारेको यो अहिलेसम्मकै सबैभन्दा ठुलो सफलता हो ।
उनले तीन स्थान सुधार गरेका छन् । प्रिन्सले हालसालै जर्मनी र नेदरल्यान्ड्समा १९ वर्ष मुनीका खेलाडीले खेल्ने अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेका थिए । दुवै प्रतियोगितामा उनी प्रिक्वाटरफाइनलसम्म पुगेका थिए । ‘ब्याडमिन्टनमा अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिएमात्र पनि प्वाइन्ट प्राप्त हुने गर्छ । त्यसैले जति धेरै अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्यो, वरियतामा अगाडि बढ्ने सम्भावना पनि त्यत्तिकै बढी हुन्छ । अर्थात उपाधि नै जितिरहनु पर्दैन । ‘, एक पूर्व राष्ट्रिय खेलाडीले भने । प्रिन्सले अन्तर्राष्ट्रिय प्रतियोगिताका रुपमा हालसम्म एउटा मात्र उपाधि जितेका छन् । उनले दुबई ओपन जितेका थिए ।


