![]()
काठमाडौ,भदौ ।
बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक) को चौथो शिखर सम्मेलनको तयारीका लागि सदस्य मुलुकका विदेश मन्त्रालयका सचिवहरू सम्मिलित वरिष्ठ अधिकारीको बैठक आज काठमाडौँमा बस्दैछ। बैठकमा सहभागी हुन सदस्य राष्ट्रका परराष्ट्र–विदेश मन्त्रालयका सचिव सोमबार साँझसम्म नेपाल आइपुगेका छन्। वरिष्ठ अधिकारीहरुको यो १९ औँ बैठक हो। वरिष्ठ अधिकारीको बैठकमा शिखर सम्मेलनका सारभूत विषय, सिफारिस गर्ने विषयगत क्षेत्रगत र यस अघिका उपलब्धिको पुनरावलोकन तथा कार्यान्वयनको प्रगति समीक्षा सम्बन्धमा छलफल हुने परराष्ट्र मन्त्रालयका सहप्रवक्ता रामबाबु ढकालले जानकारी दिए।
सो बैठकपछि भदौ १३ गते सदस्य राष्ट्रका परराष्ट्र–विदेश मन्त्रिस्तरीय बैठक हुनेछ भने भदौ १४ र १५ गते राष्ट्राध्यक्ष –सरकार प्रमुखको शिखर सम्मेलन हुनेछ। वरिष्ठ अधिकारीको बैठकले सुझावसहित प्रतिवेदन मन्त्रिस्तरीय बैठकमा पेश गर्नेछ। उक्त सुझावमाथि भदौ १३ गतेको मन्त्रिस्तरीय बैठकमा छलफल हुने सहप्रवक्ता ढकालले बताए।
बैठकमा बिमस्टेकलाई प्रभावकारी र परिणाममुखी बनाउने, सहयोगका क्षेत्रलाई प्राथमिकताका आधारमा र समूहीकृत गर्ने, संस्थागत सुधार सुदृढिकरणलगायत विषयमा छलफल र परामर्श हुनेछ। मन्त्रिस्तरीय बैठकपश्चात् भदौ १४ गते शिखर सम्मेलन सुरु हुनेछ।
सोही दिन राष्ट्रपति विद्यादेवी भण्डारीले बिमस्टेक राष्ट्रका नेतासँग भेटवार्ता गर्नुका साथै उनीहरुको सम्मानमा दिवाभोजको आयोजना गर्नेछिन्। सोही दिन साँझ प्रधानमन्त्री केपी शर्मा ओलीले सदस्य राष्ट्रका राष्ट्राध्यक्ष–सरकार प्रमुखको सम्मानमा विविध सांस्कृतिक कार्यक्रमसहित रात्रिभोजको आयोजना गर्ने कार्यक्रम छ।
भदौ १५ गतेको सम्मेलन अघि शीर्ष नेताहरुबीच अनौपरिक भेटघाटसमेत हुनेछ। त्यसपछि औपचारिक बैठक हुने र घोषणापत्र जारी हुनेछ। यस सम्मेलनमा नेपालले खासगरी सम्पर्क सञ्जाल विस्तार, बौद्ध परिपथ, हिमालय अर्थनीति, बिम्स्टेकको बडापत्र निर्माणलगायत विषयमा जोड दिने मन्त्रालयले जनाएको छ। बिमस्टेक सदस्य राष्ट्रबीच सहयोग र साझेदारी प्रवर्द्धन गरी आर्थिक विकास र समृद्धि हासिल गर्ने उद्देश्यले सन् १९९७ मा यसको स्थापना भएको हो। बङ्गलादेश, भारत, म्यान्मार, श्रीलङ्का थाइल्याण्ड, नेपाल र भुटान यसका सदस्य राष्ट्र हुन्।
बिमस्टेकमा हाल व्यापार एवं लगानी, यातायात तथा सञ्चार, ऊर्जा, पर्यटन, प्रविधि, मत्स्यपालन, कृषि, जनस्वास्थ्य, गरीबी निवारण, प्रतिआतङ्कवाद र अन्तर्राष्ट्रिय अपराध प्रतिरोध, वातावरण तथा विपद् व्यवस्थापन, सदस्य देशका जनताबीच सम्बन्ध विस्तार, सांस्कृतिक सहयोग र जलवायु परिवर्तन गरी सहयोगका १४ क्षेत्र निर्धारण गरिएका छन्।
शिखर सम्मेलनमा नेपालका प्रधानमन्त्री ओली, भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, बङ्गलादेशका प्रधानमन्त्री शेख हसिना, भुटानको अन्तरिम सरकारका प्रमुख सल्लाहकार ल्योन्पो छिरिङ वाङचुक, म्यान्मारका राष्ट्रपति विन मिन्त, श्रीलङ्काका राष्ट्रपति मैत्रीपाला सिरिसेना र थाइल्याण्डका प्रधानमन्त्री प्रयुत चान ओ चाले भाग लिनेछन्। प्रधानमन्त्री ओलीले शिखर सम्मेलनको अध्यक्षता गर्नेछन्।
जसमा पारस्परिक सहायताका क्षेत्रमा बिम्स्टेकले हालसम्म गरेका प्रगतिको समीक्षा हुनुका साथै उक्त सङ्गठनका भावी काममा दिशानिर्देश गर्नेछ। बिम्स्टेक सदस्य राष्ट्रमध्ये नेपाल र भुटान भूपरिवेष्टित छन्। तसर्थ नेपालले अन्य पाँच सदस्य राष्ट्रसँग गहिरो सम्पर्क सञ्जाल बनाउने बारेमा समेत जोड दिने बताइएको छ।
बिम्स्टेकको पहिलो शिखर सम्मेलन सन् २००४ मा थाइल्याण्ड, दोस्रो सन् २००८ मा भारत र तेस्रो सन् २०१४ मा म्यान्मारमा सम्पन्न भइसकेको छ। त्यसैगरी हालसम्म बिम्स्टेकका परराष्ट्रमन्त्रीस्तरीय १५ बैठक र वरिष्ठ पदाधिकारीस्तरीय १८ बैठक सम्पन्न भएका छन्। नेपाल सन् २००४ मा यसको सदस्य बनेको हो। बिम्सटेक क्षेत्रमा विश्व जनसङ्ख्याको झन्डै २१ प्रतिशत अर्थात् करिब डेढ अर्ब जनसङ्ख्याको बसोबास छ। सन् २०१४ मा यसको सचिवालय बङ्गलादेशको ढाकामा स्थापना गरिएको हो।


