![]()
गोरखा । मृतकको पेटबाट सर्प, भ्यागुता, छेपारो निकाल्ने भन्दै गोरखाको धार्चे गाउँपालिका ६ काशीगाउँमा एक मृतकको शव चिरिएको छ । बोक्सी लागेर मरेको र उसको पेटभित्र सर्प, भ्यागुता, छेपारो रहेको भन्दै ५२ वर्षीय भीम गुरुङको शव चिरेको खुलासा भएको हो । गाउँपालिकाका प्रमुख सन्तोष गुरुङका अनुसार स्थानीय युवाले नै घरेलु हतियारले शव चिरेका हुन्।
धामीझाँक्रीबाट उपचार गराउँदा गराउँदै गुरुङको अघिल्लो धोरतस्थित झाँक्रीकै घरमा मृत्यु भएको थियो । ‘भोलिपल्ट दाहसंस्कार गराउन चिहानडाँडा लगेको लाशलाई स्थानीय युवाले खुकुरी, हँसियाले चिरफार गरे’, स्थानीय एक महिलाले भनिन, ‘हामी गाउँमा थिएनौं । मास्क लगाएका युवाहरूले लास काटेछन् । गाउँलेहरूले फोटो, भिडियो पनि खिचेका छन् । फलानो बोक्सी लागेर मरेको भनेर फोटो पनि देशविदेशमा पठाएका छन् ।’
स्थानीय ५६ वर्षीया काली गुरुङ र उनकी छोरी मीनकुमारी गुरुङमाथि बोक्सीको आरोप छ । ‘हाम्री आमा र बहिनी बोक्सी लागेर उनको मृत्यु भएको र बोक्सी लागेर मरेको मान्छेको शरीरभित्र भ्यागुता, सर्प र छेपारो हुन्छ भन्ने गाउँमा अन्धविश्वास छ’, आरोपित गुरुङकी छोरी सोममाया गुरुङले त्रसित मुद्रामा भनिन्, ‘हाम्रो आमा र दिदीले बोक्सी लागेर उनको मृत्यु भएको र मरेको मान्छेभित्रबाट सर्प, भ्यागुता र छेपारो निकाल्ने भन्दै लास चिरेका हुन् ।’
शव चिरेको भोलिपल्टदेखि उनको परिवारलाई सामाजिक बहिष्कार गरेको उनले बताइन् ।


