![]()
खोटाङ,जेठ ।
प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले स्थानीय तहमा छाँया सरकार गठन गर्न सुरु गरेको छ । नेपाली कांग्रेस खोटाङले स्थानीय तहमा छायाँ सरकार र अनुगमन समिति बनाएको छ । स्थानीय तहमा हुने गलत कामको खबरदारी गर्नका लागि कांग्रेसले १० स्थानीय तहमध्ये ६ स्थानीय तहमा छायाँ सरकार र ४ स्थानीय तहमा अनुगमन समिति गठन गरेको हो । स्थानीय तहको चुनावमा आफ्नो प्रमुखका उम्मेद्वार पराजित भएको गाउँ–नगरपालिकामा छायाँ सरकार तथा आफ्नो प्रमुखका उम्मेद्वार विजयी भएको स्थानीय तहमा अनुमन समिति गठन गरिएको कांग्रेसले जनाएको छ ।
कांग्रेसका उम्मेद्वार पराजित भएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा तिर्थ भट्टराईको संयोजकत्वमा छायाँ सरकार तथा दुर्गाप्रसाद घिमिरेको संयोजकत्वमा अनुगमन समिति, रावाबेँसी गाउँपालिकामा जनक कार्कीको संयोजकत्वमा छायाँ सरकार र फटिककुमार श्रेष्ठको संयोजकत्वमा अनुगमन समिति, केपीलासगढी गाउँपालिकामा समिर राईको संयोजकत्वमा छायाँ सरकार गठन गरेको कांग्रेसका जिल्ला सभापति नरेशकुमार श्रेष्ठले बताए ।
यस्तै, आफ्नो उम्मेद्वार पराजित भएको साकेला गाउँपालिकामा ईच्छुराम रानाको संयोजकत्वमा छायाँ सरकार, खोटेहाङ गाउँपालिकामा प्रेमकुमार राई र जन्तेढुङगा गाउँपालिकामा खेमबहादुर खडकाको संयोजकत्वमा छायाँ सरकार गठन गरिएको सभापति श्रेष्ठले जनाए ।
यस्तै, कांग्रेसका उम्मेद्वार प्रमुखमा विजयी भएको हलेसी तुवाचुङ नगरपालिकामा चक्र राईको संयोजकत्वमा अनुगमन समिति गरिएको छ । एसेलुखर्क गाउँपालिकामा हरिराम राजभण्डारी, बराहपोखरी गाउँपालिकामा भूवन श्रेष्ठ र दिप्रुङ चुईचुम्मा गाउँपालिकामा केशवराज कार्कीको संयोजकत्वमा अनुगमन समिति गठन गरिएको छ । छायाँ सरकार र अनुगमन समिति ७र७ सदस्यीय रहने कांग्रेसले जनाएको छ ।
नेपाली कांग्रेस खोटाङले बरहापोखरी गाउँपालिकाको बराहापोखरी मन्दिर निर्माणका लागि संसदीय क्षेत्र विकास कोषबाट छुटिएको ४३ लाख रकम सदुपयोग नभएको, रुपाकोट मझुवागढी नगरपालिका–१५ विजयखर्कमा मन्दिर निर्माण नै नगरी फरफराक गरेको भन्दै प्रमुख जिल्ला अधिकारी सुरेन्द्रराज पौडेलको ध्यानाकर्षण गराएको छ ।


