![]()
काठमाडौं । बैशाख ९ गते पार्टी एकताको घोषणा नहुने भएपनि एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सो दिन एकता घोषणाको नयाँ मिति घोषणा गर्ने भएका छन । त्यसका लागि शनिवार दुवै नेताबीच छलफल भएको छ । छलफलमा विवादित बिषयमा सहमतिको प्रयास र एकता प्रक्रिया अन्यौलमा जाँदा कार्यकर्तामा परेको नकारात्मक अशलाई मेटने गरी सन्देश दिने बिषयमा कुराकानी भएको छ ।
आइतबार नेपाल कम्युनिस्ट पार्टी स्थापनाका दिन पनि भएकाले काठमाडौं राष्ट्रियसभा गृहमा आयोजित सभालाई दुवै नेताले एकताको प्रष्ट सन्देशसहित सम्बोधन गर्ने नेता कृष्णगोपाल श्रेष्ठले जानकारी दिनुभयो ।
“एकता टरेको होइन, यो कसैले टार्न सक्दैन, तयारी नपुगेर केही समयपछि सरेको मात्र हो।” यो सन्देश दुवै अध्यक्षले सो सभामा दिनुहुनेछ।” एमाले केन्द्रीय कार्यालयका सचिव कृष्णगोपाल श्रेष्ठले बताए।
गत असोज १७ मा एकीकृत कम्युनिस्ट पार्टी निर्माणको घोषणासहित चुनावी गठबन्धन हुँदै संघीय संसद्मा बहुमत हासिल गरी नयाँ सरकारसमेत बनाइसकेका एमाले र माओवादी केन्द्र एकताबाट पछि हट्न नसक्ने दुवै दलका नेताले पटक÷पटक जनाउँदै आएका छन्। स्थिर सरकार, सुशासन र विकासको लक्ष्यसहित निर्वाचनलगत्तै एकता गर्ने प्रतिबद्धता चुनावी घोषणापत्रमा भएको र त्यसलाई कार्यकर्ता र जनताले अनुमोदन गरिसकेकाले यसबाट पछि हट्न नमिल्ने विश्लेषकहरूको पनि बुझाइ छ।
दुई दलबिच नेता माधवकुमार नेपालको संयोजकत्वमा गठित संगठन र नेता रामबहादुर थापा बादलको संयोजकत्वमा रहेको वैचारिक कार्यदलले तयार गरेको अन्तरिम विधान र अन्तरिम राजीतिक प्रतिवेदनलाई अन्तिमरुप दिन यही वैशाख ४ गतेको एकता संयोजन समितिको बैठकले अध्यक्ष ओली र दाहाललाई जिम्मेवारी दिएको थियो।


