![]()
बीबीसी । सिरियाली सरकारी फौजले दमास्कसको बाहिरी भागमा रहेको पूर्वी गुटामा गरेको आक्रमणमा दर्जनौँ सर्वसाधारण मारिएपछि संयुक्त राष्ट्रसंघले गहिरो चिन्ता प्रकट गरेको छ । हवाई तथा रकेट आक्रमणहरूमा २० बालबालिकासहित कम्तीमा ७७ जना मारिएपछि राष्ट्रसंघले चासो र चिन्ता व्यक्त गरेको हो ।
सन् २०१३ यता घेराबन्दीमा रहेको पूर्वी गुटामा करिब ४ लाख मानिसको बसोबास रहेको छ। बमबारी रोक्न आग्रह गर्दै राष्ट्रसंघका एक जना अधिकारीले त्यहाँको अवस्था नियन्त्रणबाहिर गइरहेको प्रतिक्रिया दिएका छन्।
उक्त क्षेत्र राजधानी दमास्कस नजिकै विद्रोहीहरूको पकड रहेको एकमात्र बाँकी क्षेत्र हो। त्यहाँ पुनः नियन्त्रण कायम गर्न सिरियाली फौजले आक्रमणको तयारी गरिरहेको ठानिएको छ। सहायताकर्मीहरूका अनुसार हमलाले उक्त क्षेत्रका मुख्य सडकहरूलाई पनि निशाना बनाएको छ, जसका कारण सहायता सामग्रीको परिचालन, उद्धार कार्य र एम्बुलेन्सको अवातजावत समेत बन्द हुन सक्ने देखिन्छ।
स्वस्थ्य केन्द्रहरूमा पनि आक्रमण गरिएकाले मृत्यु हुनेहरूको संख्या बढिरहेको छ। एउटा प्रसुति केन्द्रसहित चार वटा अस्थायी अस्पताल आक्रमणमा परेका थिए।
विद्रोहीहरूले मोर्टार हमलाबाट जवाफ दिइएरहेका छन् तर सरकारी सैन्य बल उनीहरूभन्दा बढी शक्तिशाली देखिएका छन्।


