![]()
बिराटनगर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले एमाले अध्यक्ष केपी शर्मा ओलीले सम्पत्ति शुद्धिकरण ऐनलाई प्रभाव पार्ने गरी दिएको अभिव्यक्ति आपत्तीजनक रहेको बताएका छन ।
बिराटनगरमा संचारकर्मीहरुसंग कुरा गर्दै नेता कोइरालाले भने, ‘भावी प्रधानमन्त्री भनिने नेताबाटै यस्तो भनाइ आएको छ, ओलीजीले भनेको कुरा लागू हुने हो भने विश्व समुदायमा नेपाल अत्यन्त अप्ठ्यारोमा पर्छ। यो देशको इमेज ध्वस्त हुन्छ। आर्थिक रूपमा पनि मुलुक सङ्कटग्रस्त हुन्छ। अन्तर्रा्ष्ट्रिय आर्थिक मञ्चमा हाम्रो कुनै स्थान रहने छैन।’
नेपालले सम्पत्ति शुद्धीकरणसम्बन्धी विषयलाई अन्तर्रा्ष्ट्रिय रूपमै स्वीकार र हस्ताक्षर गरेको अनि नेपालको व्यवस्थापिका संसद्ले समेत स्वीकृत गरेको कोइरालाले बताए ।
‘ओलीजीले कसका लागि बोल्नुभयो त्यो मलाई थाहा छैन तर मुलुकलाई नै ध्वस्त बनाउने हिसाबका कुरा गर्नुभयो’, कोइरालाको भनाइ थियो ।
ओलीले बोलेर पनि केही नहुने भन्दै नेता कोइरालाले सम्पत्ति शुद्धिकरणसम्बन्धी ऐन कुनै हालतमा परिवर्तन नहुने दाबी गरे ।
नेता कोइरालाले भारतीय विदेश मन्त्री सुषमा स्वराजको नेपाल भ्रमण उपयुक्त समयमा नभएको टिप्पणी गरे । स्वराज नयाँ सरकार बनेपछि आएको भए राम्रो हुने उनले बताए ।


