Breaking News.... EverestOnlineKhabar
July 2, 2026

दोलखाको जामुने मतदान केन्द्रमा तनाव,गोरखामा बाबुरामको पर्चा र नगदसहित ५ जना पक्राउ

Loading

काठमाडौ,१० मंसिर ।
जिल्लाको तामाकोशी गाउँपालिकाको जफेमा रहेको जामुने मतदान केन्द्रमा तनाव भएको छ । मतदान केन्द्र नै कब्जा गर्ने प्रयास भएपछि तनाव सिर्जना भएको प्रहरीले जनाएको छ। बुथको सुरक्षा लागि अहिले थप सुरक्षा फोर्स माग गरिएको छ । बुथ कब्जा गर्न आएको समूहले अहिले मतदान केन्द्र भन्दा माथिबाट ढुङगामुढा प्रहार गरिएको प्रहरीले जनाएको छ । उनीहरूले टाढाबाट गुलेलीले ढुङगा प्रहार गरिरहेकोले थप सुरक्षा माग गरिएको जनाइएको छ । नेविसंघका महामन्त्री कुन्दन काफ्ले नेतृत्वको बाहिरबाट आएको समूहले केन्द्रमा आक्रमण गरेपछि तनाव सुरु भएको आरोप लगाइएको छ । यो ठाउँमा गत स्थानीय तहको चुनावमा पनि बुथ कब्जा गर्न खोज्दा तनाव भएको थियो ।
यसैबीच,गोरखाको जौबारीमा एक लाख रुपैयाँ नगद र चुनावी प्रचार सामाग्रीसहित नयाँशक्ति पार्टीका कार्यकर्ता पक्राउ परेका छन् । पक्राउ परेका ५ जनालाई जौबारी इलाका प्रहरी कार्यालयमा राखिएको छ । नयाँ शक्ति पार्टीको चुनावी प्रचारमा प्रयोग गरिएको गाडी र नगद १ लाखसहित ती व्यक्तिहरुलाई जौबारी प्रहरीले नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेहरूमा गाडी चालक गोरखा–११ का दिपेन्द्र सुनार, गोरखा नगरपालिका–१० का डिलमान गुरुङ र अम्बरबहादुर गुरुङ छन् । त्यसैगरी गोरखा नगरपालिका–६ का भरतकुमार श्रेष्ठ र गोरखा–८का खुशबहादुर थापासमेत पक्राउ परेका छन् ।
गाडीभित्र रहेको कालो रङको ब्यागमा नगद १ लाख रुपैयाँ भेटिएको आज राति १ बजे गोरखा जिल्ला क्षेत्र नम्बर–२ दुई अन्तर्गत शिरानचोक गाउँपालिका– ८ गोपालडाँडा स्थानीय युवाहरुले उक्त गाडी, नगद रकम र ५ जना युवालाई नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएको दावी गरिएको छ ।
अजिरकोटबाट भालुस्वरातर्फ आउँदै गरेको ग २ च १७२५ नम्बरको जीप गाडीमा उक्त नगद र प्रचार सामाग्री भेटिएको स्थानीय प्रत्यक्षदर्शीको भनाइ छ । गोरखाका प्रहरी प्रमुख एसपी प्रकाश अधिकारीले भनेः‘ मौन समयमा उक्त गाडी र नगद कुन प्रयोजनका लागि लगिएको थियो भन्नेबारे अनुसन्धान हुन बाँकी छ, हामी सबै प्रहरीहरु चुनाबकी फिल्डमा खटिएका छौं, मतदान सकिएपछि उनीहरुमाथि अनुसन्धान अघि बढाइनेछ ।’
यसैबीच, बाबुराम भट्टराई नेतृत्वको नयाँशक्ति पार्टीले मतदाताहरुलाई पैसा बाँडेको र आचारसंहिता उल्लंघन गरेको जौबारीका स्थानीय माओवादी कार्यकर्ताले आरोप लगाएका छन् । नयाँ शक्तिका नेताहरुले भने पैसा बाँड्नलाई बोकेको नभई सो रकम कार्यकर्ता परिचालनका क्रममा उनीहरुका साथमा रहेका बुथ खर्च भएको बताएका छन् । मौन समयअघि गाडीमा राखिएका प्रचार समाग्रीहरु नियन्त्रण लिएर आचारसंहिता उल्लंघनको प्रचार गरिएको नयाँ शक्तिको दाबी छ ।
प्रहरीले नियन्त्रणमा लिएको गाडी नयाँशक्ति पार्टीका समानुपातिक उम्मदेवारको रहेको सो पार्टीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed