![]()
सिएनएन । अमेरिकाका विदेशमन्त्री रेक्स टिलरसनले राष्ट्रपति डोनल्ड ट्रम्पले उत्तर कोरियासँगको मतभेद कूटनीतिक माध्यमबाट समाधान गर्ने चाहेको बताएका छन । सिएनएनसंगको वार्ताकाक्रममा बिदेशमन्त्री टिलरसनले अन्तिम अवस्था नआएसम्म उत्तर कोरियासंग समाधानका लागि कूटनीतिक उपाय नै खोज्नुपर्नेमा ट्रम्प रहेको बताए ।
उनले प्रतिबन्धहरु र कूटनीतिको बलले उत्तर कोरियाको परमाणु लक्ष्यविरुद्ध यसअघि कहिल्यै नल्याएको अन्तर्राष्ट्रिय एकता ल्याएको दावी गरे । टिलरसनले ट्रम्प र आफू दुवैले उत्तर कोरियाको परमाणु कार्यक्रमबारेको संकटलाई शान्तिपूर्ण ढंगबाट समाधान गर्न चाहेको जिकिर गरे ।
दुई साता अघि ट्रम्पले टिलरसनलाई उत्तर कोरियाका नेतासँग वार्ता गर्न खोजेर आफ्नो समय खेर नफाल्न भनेका थिए । अन्तर्वार्तामा टिलरसनले उत्तर कोरियाबारे राष्ट्रपति ट्रम्पसँग उनको मतभेद रहेको भन्ने कुरा खोल्न चाहेनन ।
दक्षिण कोरियाका फौजहरु उत्तर कोरियासँगको सीमा क्षेत्रमा आफ्नो अभ्यास बढाउँदै आएका छन् । हालैका महिनामा उत्तर कोरियाले छैटौं परमाणु परिक्षण गरेर र जापानको आकाशमा दुईवटा क्षेप्यास्त्र प्रक्षेपण गरेर अन्तर्राष्ट्रय धारणालाई चुनौती दिएको छ ।
गत महिनाको अन्त्यमा टिलरसनले अमेरिका उत्तर कोरियासँग प्रत्यक्ष सम्पर्कमा रहेको र वार्ताको सम्भाव्यता हेरिहेको खुलासा गरेका थिए । यसैबीच उत्तर कोरियविरुद्ध नयाँ प्रतिबन्धहरु लगाउने विषयमा युरोपेली संघका विदेशमन्त्रीहरुको बैठक बस्दै छ ।


