![]()
काठमाडौ,३० असोज ।
प्रतिनिधिसभा र प्रदेशसभाको आगामी निर्वाचनका लागि राजनीतिक दलहरुले आइतबार समानुपातिक निर्वाचन प्रणालीतर्फका उम्मेदवारहरुको बन्दसूची निर्वाचन आयोगमा बुझाएका छन् । आयोगले बन्दसूची बुझाउनका लागि बिहान १० बजेदेखि ५ बजेसम्मको समय निर्धारण गरेपनि राति अवेरसम्म दलहरुले आयोग परिसरमा आवश्यक प्रक्रिया पूरा गर्नमा व्यस्त देखिएका थिए । आयोगका प्रवक्ता नवराज ढकालले निर्धारित ५ बजेसम्मको समयसीमा भित्र आयोग परिसरमा प्रवेश गरेका दलहरुको बन्दसूची बुझिएको छ । ५ बजेसम्ममा ५५ वटा राजनीतिक दलले आवश्यक धरौटी बुझाएर प्रक्रियामा प्रवेश गरेका थिए । तर, राति ८ बजेसम्म नेपाली कांग्रेस, एमालेसहितका ठूला दलहरुले नै बन्दसूची बुझाएका थिएनन् । समानुपातिक निर्वाचन प्रणालीमा चुनावमा भाग लिन ८८ दलले आयोगमा दल दर्ता गराएका थिए । बन्दसूची तयार पार्नु पर्ने कानूनअनुसार धेरै प्रक्रिया पूरा गर्नुपर्ने साथै उम्मेदवारहरु पनि टुंग्याउन नसकेकाले बन्दसूचीलाई अन्तिम रुप दिन दलहरुलाई ढिला भएको हो ।
प्रवक्ता ढकालले कानूनी र प्राविधिक हिसाबले समानुपातिक तर्फको सूची तयार पर्दा दलहरुले धेरै विषयमा ध्यान पुर्याउनु पर्ने भएकाले सबै प्रक्रिया पूरा गरेर सूचीलाई अन्तिम रुप दिन दलहरुलाई बढी समय लागेको बताए । दोस्रो संविधानसभाको तुलनामा यसपटक समानुपातिक बन्द सूची बुझाउने दलहरुको संख्या घटेको छ । संविधानसभा निर्वाचनमा १ सय २२ राजनीतिक दलले समानुपातिक निर्वाचन प्रणाली तर्फ उम्मेदवारी दिएका थिए । प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले राजनीतिक दलहरुले समानुपातिकतर्फको उम्मेदवारी दर्ता उत्साहपूर्ण ढंगले गराएको बताए । आयोग परिसरमा समानुपातिकको बन्द सूची बुझ्न प्रतिनिधिसभा र ७ वटा प्रदेशका लागि छुट्टा छुट्टै डेस्क स्थापना गरिएको थियो । बन्दसूची बुझाउने राजनीतिक दलले प्रतिनिधिसभाका लागि ५० हजार र प्रदेशपिच्छे २५ हजार धरौटी रकम जम्मा गर्नुपरेको थियो ।
समानुपातिक तर्फको बन्दसूचीमा परेका व्यक्तिले प्रत्यक्षतर्फको उम्मेदवार हुन पाउने छैनन् । बन्दसूची कानूनअनुसार क्लस्टर मिलाएर पेस भए–नभएको यकिन आयोगले गरी नमिलेको भए त्यसलाई मिलाउन दलहरुलाई अवसर दिइने छ । कात्तिक १२ गतेभित्र बन्दसूची संशोधन गरिसक्ने आयोगले समय सीमा निर्धारण गरेको छ । बन्दसूची पेस गर्ने दलले समानुपातिक तर्फको कुल सदस्य संख्याको कम्तीमा दश प्रतिशत सदस्यका लागि उम्मेदवारी दिनुपर्ने हुन्छ । प्रतिनिधिसभामा १ सय १० सदस्य समानुपातिक निर्वाचन प्रणालीबाट चुनिने छन् ।
प्रदेश नम्बर १ मा ३७, प्रदेश नम्बर २ मा ४३, प्रदेश नम्बर ३ मा ४४, प्रदेश नम्बर ४ मा २४, प्रदेश नम्बर ५ मा ३५, प्रदेश नम्बर ६ मा १६ र प्रदेश नम्बर ७ मा २१ जना समानुपातिक तर्फबाट सदस्यहरु छानिने छन् । बन्दसूची पेस गर्ने दलले पेस गरिएको नामहरुमा ५० प्रतिशत अनिवार्य महिलाको नाम राख्नुपर्ने कानूनी प्रावधान छ । आइतबार बुझाएको बन्दसूची सच्याउन, संशोधन गर्न र नाम फिर्ता लिन, दावी विरोध जस्ता विभिन्न प्रक्रिया पूरा गरेपछि आयोगले मसिंर ३ गते मात्रै अन्तिम रुप दिने छ । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन एकै साथ मंसिर १० गते र मसिंर २१ गते दुई चरणमा हुँदैछ ।
यी हुन् बन्द सूची बुझाउन आयोगमा प्रक्रिया पूरा गरेका दलहरु–
१. ग्रिन पार्टी नेपाल
२. राष्ट्रिय यथार्थबादी पार्टी नेपाल
३. राष्ट्रिय जनता दल नेपाल
४. चुरे भाबर लोकतान्त्रिक पार्टी
५. संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च
६. नेपाल युवा किसान पार्टी
७.एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रबादी)
८. ताम्सालिङ लोकतान्त्रिक पार्टी
९.नेपाली कााग्रेस
१०. नेपाल समावेशी पार्टी
११. नेपाल समाजबादी पार्टी (लोहियाबादी)
१२. जनशक्ति नेपाल
१३. जनतान्त्रिक पार्टी नेपाल
१४. राष्ट्रिय शिबसेना पार्टी र नागरिक पार्टी
१५. राष्ट्रिय जनता पार्टी नेपाल
१६. देशभक्त समाज
१७. नेपाल कम्युनिष्ट पार्टी माक्र्सबादी
१८. देशभक्त लोकतान्त्रिक पार्टी
१९. बहुजन शक्ति पार्टी
२०. दलित मुस्लीम जनशक्ति पार्टी
२१. संघीय समाजबादी फोरम नेपाल
२२. नेपाल जनता पार्टी
२३. नेपाल मजदूर किसान पार्टी
२४. संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च थरुहट
२५. युवा नेपाल पार्टी
२६. राष्ट्रिय जनमोर्चा
२७. लिबरल डेमोक्र्याटिक पार्टी
२८. देशभक्त जनगणतान्त्रिक मोर्चा
२९. नयाँ शक्ति पार्टी नेपाल
३०. हाम्रो पार्टी
३१. नेपालबाद
३२.आमुल परिवर्तन मसिहा पार्टी नेपाल
३३. नेपाल दर्शन
३४. राष्ट्रिय प्रजातन्त्र पार्टी
३५. मंगोल नेसनल अर्गनाइजेसन
३६. राष्ट्रि प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक)
३७. नेकपा एमाले
३८. संघीय खम्बुवान लोकतान्त्रिक पार्टी नेपाल
३९. राष्ट्रिय त्रिसुल बहुजन समाजवादी पार्टी
४०. नेकपा माले समाजवादी पार्टी नेपाल
४१. नेपाल नौलो जनवादी पार्टी
४२.नेपाल लोकतान्त्रिक फोरम
४३.नेकपा माओवादी केन्द्र
४४. नेपाल सुकुम्बासी पार्टी लोकतान्त्रिक
४५. नेपाल लोकतान्त्रिक जनता कांग्रेस
४६. नेपाली जनता दल
४७. नेपाली कांग्रेस वी.पी
४८. राष्ट्रिय मुक्ति आन्दोलन
४९.राष्ट्रिय समाजवादी पार्टी नेपाल
५०. नेपाल दलित पार्टी
५१. राष्ट्रिय जनमुक्ती पार्टी
५२. नेपाल संघीय समाजवादी पार्टी
५३. विवेकशील साझा पार्टी
५४. ऐतिहासिक प्रजातान्त्रिक जनता पार्टी नेपाल
५५. नेपाःराष्ट्रिय पार्टी


