![]()
खोटाङ,५ साउन ।
खोटाङको रुपाकोट मझुवागढी नगरपालिकाले नियम विपरित सञ्चालनमा रहेको क्रसर उद्योग सञ्चालनमा रोक लगाएको छ । रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलास्थित राँकेडाँडामा नियम विपरित सञ्चालनमा रहेको क्रसर उद्योग सञ्चालनमा रोक लगाएको हो । मध्यपहाडी लोकमार्ग अन्तर्गत दिक्तेल–हलेसी सडक कालोपत्रेका काम गरिरहेको ठेकेदारले अनाधिकृतरुपमा क्रसर उद्योग सञ्चालन गरिरहेको पाइएकाले क्रसर उद्योग अन्यत्र हटाउने निर्णय गरिएको नगरप्रमुख दिपनारायण रिजालले बताउनुभयो ।
ऐतिहासिक तथा पर्यटकीयस्थल महुरेगढी नजिक डेढ वर्षदेखि सञ्चालनमा ल्याइएको क्रसर उद्योगले सदियौंदेखि हरेक साउन २ गतेका दिन राँके मेला लाग्ने महुरेको अस्तित्व संकटमा परेकाले तत्काल क्रसर उद्योगलाई अन्यत्र हटाउन भनिएको हो ।
क्रसर उद्योगका कारण किराँत समुदायको साँस्कृतिक धरोहरकारुपमा रहेको राँके मेला लाग्ने चउरमा गिटी र ढुंगा थुप्रिएको छ । क्रसर सञ्चालकले स्थानीय सामुदायिक वनसँग सम्झौता गरेको भए पनि नगरपालिका, स्थानीय निकाय, वन कार्यालय लगायतको अनुमती बिना नै मनोमानीढंगले क्रसर उद्योग सञ्चालन गरिरहेको पाइएको नगरपालिकाले जनाएको छ ।


