Breaking News.... EverestOnlineKhabar
March 14, 2026

च्याम्पियन्स लिगको उपाधि पुनःरियल मड्रिडलाई,युभेन्टस् ४–१ ले पराजित

Loading

एजेन्सी,२१ जेठ ।
क्रिस्टियानो रोनाल्डोको २ गोलको सहयोगले इटालियन क्लब युभेन्ट्सलाई ४–१ ले पराजित गर्दै रियल म्याड्रिडले युरोपको सबैभन्दा प्रतिष्ठित च्याम्पियन्स लिगको उपाधि जितेको छ। वेल्सको कार्डिफमा आइतबार बिहान सम्पन्न फाइनल खेलमा रोनाल्डोले २० र ६४ मिनेटमा गोल गरेपछि इटालीका सबैभन्दा अनुभवी गोलरक्षक जियानलुइगी बुफोनको टोली स्तब्ध बन्न पुग्यो। पहिलो हाफको खेललाई १–१ गोलको बराबरीमा राखेको युभेन्ट्सको रक्षापंक्तिलाई दोस्रो हाफमा म्याड्रिडका खेलाडीले सहजै तोडेका थिए।
जिनेदिन जिदानको प्रशिक्षणमा रियलको यो लगातार दोस्रो च्याम्पियन्स लिगको उपाधि हो। उनको प्रशिक्षणमा दुई साताअघि मात्र रियलले आफ्नो चिरप्रतिद्वन्दी बार्सिलोनासँग स्पेनिस ला लिगाको उपाधि पनि खोसेको थियो। रियलको फाइनल जितमा रोनाल्डो पुनः नायक सावित भए। उनले खेलको २० मिनेटमा डानी कार्भाहालको पासमा गोल गर्दै रियललाई सुरुमै अग्रता दिलाएका थिए।
तर, उनको यो अग्रता धेरै बेर टेक्न सकेन। २७ मिनेटमा मारियो मान्डजुकिकले १५ यार्ड टाढाबाट गोल गर्दै पहिलो हाफको खेललाई १–१ को बराबरीमा राख्न योगदान गरे। तर, दोस्रो हाफपछि झनै संगठित देखिएको रियलले युभेन्ट्सको चट्टान झै मानिएको रक्षापंक्तिलाई तोड्दै ३ गोल फर्कायो। यसै क्रममा युभेन्ट्सले ८४ मिनेटमा जुवान कुआर्डाडो दोस्रो पहेँलो कार्ड खाँदै मैदानबाट बाहिरिए।
रियलका लागि दोस्रो गोल ब्राजिलियन रक्षात्मक मिडफिल्डर कासेमिरोले सम्भव पारे। उनले ६१ मिनेटमा २५ यार्ड टाढाबाट हानेको प्रहार युभेन्ट्सका सामी खेदिराको खुट्टामा लागेर गोल भएको थियो।
रियलका लागि तेस्रो गोल पुनः रोनाल्डोले गरे। उनले ६४ मिनेटमा डिबक्सको टच लाइनबाट लुका मोड्रिकले दिएको पासमा गोल गरे। चौथो गोल अतिरिक्त खेलाडीको रुपमा मैदान प्रवेश गरेको ८ मिनेटमा मार्को असेन्सियोले गरे। असेन्सियोलाई उत्कृष्ट प्रदर्शन गरिरहेका इस्कोको स्थानमा प्रशिक्षक जिदानले ८२ मिनेटमा मैदान प्रवेश गराएका थिए। उनले ९० मिनेटमा गोल गरे। उनको गोलसँगै खेल ४ मिनेटमा लागि थपिएको थियो।
युभेन्ट्सको डिफेन्स लाइन दोस्रो हाफपछि भताभूङ देखियो। अग्रपंक्तिमा दुई अर्जेन्टिनी स्ट्राइकर पावलो डायबाला र गोञ्जालो हिग्विनको प्रभाव दोस्रो हाफपछि फितलो देखियो। बार्सिलोनालाई हराउन उत्कृष्ट प्रदर्शन गरेका डानी आल्भेस पनि प्रभावशाली देखिएनन्। वेल्सका अन्तर्राष्ट्रिय खेलाडी गारेथ वेललाई कार्डिफस्थित उनको घरेलु मैदानमा ७७ मिनेटपछि करिम बेन्जेमाको स्थानमा मैदानमा प्रवेश गराइएको थियो। उनी विगत अप्रिलदेखि पिढुँलाको चोटका कारण टिमबाट बाहिर थिए।
रियल म्याड्रिडको यो समेत १२ औं च्याम्पियन्स लिग उपाधि थियो। रियलको जितसँगै ३९ वर्ष १ सय २६ दिनको पाको उमेरमा च्याम्पियन्स लिग जित्ने युभेन्ट्सका कप्तान तथा गोलरक्षक जियान लुइगी बुफोनको सपना पनि चकनाचुर भयो। १९९८ पछि उपाधि रक्षा गर्ने मड्रिड पहिलो टिम समेत बनेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.