![]()
काठमाडौ,२० जेठ ।
प्रतिपक्ष दल नेकपा एमालेले वर्तमान सत्तागठवन्धन कांग्रेस–माओवादी केन्द्रको गठवन्धन जसरी पनि भत्काउने रणनीति अख्तियार गरेको छ । नेकपा एमालेले व्यवस्थापिका संसद्को बैठकलाई निरन्तर अवरुद्ध बनाउँदै आइरहेको छ । भरतपुर महानगरपालिका, चितवनमा पुनः मतगणनाको माग गर्दै एमालेले संसद् अवरोध गरे पनि एमालेले यसबाट अन्य स्वार्थपूर्ति गर्ने चाहना राखेको छ ।
एमालेले सदन अवरुद्ध गराएर चितवनको भरतपुर महानगरपालिकामा रोकिएको मतगणना सुचारु गर्न सत्ता पक्ष र निर्वाचन आयोगलाई दबाब दिँदै आएको छ । पुनः मतगणना हुँदा आफ्ना उम्मेदवार देवी ज्ञवाली विजयी बन्ने एमालेको विश्वास छ ।
भरतपुरमा कांग्रेस–माओवादी केन्द्रको आ–आफ्नो स्वार्थमा दुई दलबीच गठबन्धन बनेको एमाले बुझाइ छ । कांग्रेस सभापति शेरबहादुर देउवाको प्रधानमन्त्री पद सुनिश्चित गर्ने स्वार्थ र प्रधानमन्त्री प्रचण्डको पुत्री रेणु दाहाल विजयी बनाएर संघीय संसद्का लागि सिट सुरक्षित गर्ने स्वार्थ रहेको र त्यसलाई भत्काउनका लागि पुनः मतगणना गर्दा फाइदा पुग्ने एमालेको बुझाइ छ । यसो हुँदा दुई दलबीच दूरी बढ्ने र गठबन्धन ढिलो–चाँडो टुट्ने एमाले विश्वास छ ।
भरतपुरमा आफ्नो पक्षमा परिणाम नआउँदा कांग्रेस–माओवादी गठबन्धनबीच दरार आउने एमाले विश्लेषण छ । यसो गर्दा कांग्रेस सभापति देउवालाई प्रधानमन्त्रीमा रोक्न सकिने एमाले बुझाइ छ ।
यसैबीच,नेकपा एमालेले पार्टी उपाध्यक्ष वामदेव गौतमलाई प्रधानमन्त्रीमा अघि सारेको छ । वर्तमान सत्तागठवन्धन तोड्ने रणनीति लिएपनि भित्रभित्रै वामदेव गौतमलाई प्रधानमन्त्रीको लागि अघि सारेको छ । भरतपुर महानगरपालिकाको मतगणनालाई देखाएर संसद अबरोध गरेपनि भित्रभित्रै सत्ता स्वार्थको लागि एमालेले संसद अवरोध गरेको प्रष्ट हुन्छ ।


