![]()
काठमाडौ,१४ जेठ ।
सत्तारुढ दल र प्रतिपक्ष दलहरुबीच प्रधानन्यायाधिश सुसीला कार्कीमाथी लगाईएको महाअभियोग फिर्ता लिने सहमति भएपनि कसरी लिने भन्ने विषयमा अन्यौल देखिएको छ । संसदको अवरोध खुलाउने शर्तमा सरकार महाअभियोग फिर्ता लिन सहमत भएपनि संसदमा दर्ता भइसकेको महाअभियोगको प्रस्ताव कसरी फिर्ता लिने भन्नेमा अन्यौल देखिएको हो । महाअभियोग प्रस्तावका प्रस्तावक कांग्रेसका मीन विश्वकर्माले संसदको सर्वोच्चता र सार्वभौमिकतालाई कायमै राखेर फिर्ता गर्ने कि सीधै फिर्ता लिने भन्ने विषय मुख्य रहेकाले अझै केही दिन लाग्ने बताए ।
प्रस्तावका समर्थक माओवादी केन्द्रका टेकबहादुर बस्नेतले महाअभियोग जस्तो विषय हचुवाका भरमा दर्ता हुने र त्यस्तै भरमा फिर्ता गर्ने गर्दा गलत नजिर बस्ने भएकाले संसदको गरिमा कायमै राख्नेगरी विकल्प खोजिने बताए । यस विषयमा सत्तापक्ष र विपक्षबिचमा थप छलफल आवश्यक रहेकाले आज भोलि नै महाअभियोग प्रस्ताव फिर्ता हुने सम्भावना कम रहेको उनले बताए ।


