![]()
भरतपुर,१५ जेठ ।
भरतपुर महानगरपालिकाको मतगणना अन्तिम अवस्थामा पुगेकाबेला आइतबार राति रोकिएको छ । प्रहरीले दुई माओवादी कार्यकर्तालाई पक्राउ गरेको छ । राति पौने १२ बजे दुई माओवादी कार्यकर्ताले मतपत्र च्यातेपछि स्थिति तनावपूर्ण भएको थियो । मुख्य निर्वाचत अधिकृत कविप्रसाद न्यौपानेले शान्तिपूर्णरुपमा भइरहेको मतगणनास्थललाई दलका प्रतिनिधिले रणभूमि बनाएको संक्षिप्त प्रतिक्रिया दिएका छन् ।
न्यौपानेले घटनाबारे निर्वाचन आयोगलाई प्रतिवेदन दिएपछि आगामी कारबाही अगाडि बढ्ने जानकारी दिए । उनले मतपत्र च्यात्ने र पक्राउ परेका प्रतिनिधि कुन दलका हुन् भनेर खुलाउन चाहेनन् । आफू बाथरुम जानेबेलामा एक्कासी होहल्ला भएपछि बाथरुम नपसी फर्कंदा स्थिति तनावपूर्ण देखेको न्यौपानेले बताए ।
एमाले उम्मेदवार देवी ज्ञवालीले शान्तिपूर्ण मतगणना भइरहेकाबेला सत्तारुढ दलका प्रतिनिधिहरुले मतगणना रोकेको भन्दै दुःख व्यक्त गरे । उनका अनुसार सत्तारुढ कांग्रेस–माओवादी केन्द्रले सुरुको वडादेखि नै पुनः मतगणना हुनुपर्ने, कम्प्युटरमा तथ्यांक व्यवस्थापनमा गढबढी भएकोलगायतका विषय उठाएर गणना भइरहेको मतपत्र च्यातेको आरोप लगाए ।
वैशाख ३१ गते भएको निर्वाचनको गणना अन्तिम चरणमा पुगेको थियो । २९ वडा रहेको भरतपुरमा १९ वडाको मतगणना अन्तिम चरणमा पुगेको थियो भने २० वडाको बाँकी थियो ।


