Breaking News.... EverestOnlineKhabar
February 7, 2026

बिहिबार राति १२ बजेपछि उम्मेद्वारले प्रचारप्रसार गर्न नपाउने

Loading

काठमाडौ,बैशाख ।
यहि वैशाख ३१ गते हुने पहिलो चरणको स्थानीय तह चुनावको मौन अवधि बिहीबार राति १२ बजेपछि सुरु हुने निर्वाचन आयोगले जनाएको छ । निर्वाचन आयोगले बुधबार विज्ञप्ति जारी गर्दै मौन अवधि सुरु भएपछि उम्मेद्वारको पक्ष र विपक्षमा चुनाव प्रचारप्रसार गर्न÷गराउन निषेध गरिएको जनाएको छ ।
आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले जारी गरेको विज्ञप्तिमा भनिएको छः ‘स्थानीय तह निर्वाचन निर्देशिका–२०७३ दफा ६९ मा मौन अवधिमा प्रचार गर्न निषेध गरिएको छ । निर्देशिकाको दफा ६ को (१) मा मौन अवधि सुरु भएपछि मतदानको काम पूरा नभएसम्म निर्वाचन हुने पदका लागि निर्धारित क्षेत्रभित्र कुनै उम्मेदवारको पक्ष वा विपक्षमा मत लिने वा दिने उद्देश्यले कुनै प्रकारले कुनै किसिमको प्रचार गर्न दिन हुँदैन भन्ने उल्लेख छ ।’
निर्देशिकाको दफा ७० को उपदफा (१) मतदान हुने दिनभन्दा ४८ घन्टाअघिदेखि मतदानको काम पूरा नभएसम्म कुनै उम्मेद्वार वा दलको पक्ष वा विपक्षमा मतदान गर्ने वा नगर्ने उद्देश्यले सभा बोलाउने वा आयोजना गर्न, जुलुस निकाल्न वा नाराबाजी गर्न तथा अन्य कुनै प्रकारले प्रचारप्रसार गर्न वा गराउन निषेध गरिएको आयोगले जनाएको छ । साथै सभा, जुलुस, नाराबाजी लगायतका कुनै पनि गतिविधि गर्न बन्देज गरिएको छ ।
स्थानीय तहको पहिलो चरणको मतदान बैशाख ३१ गते बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म तोकिएको छ । पहिलो चरणमा प्रदेश नम्बर ३, ४ र ६ अन्तर्गतका २८३ स्थानीय तहमा निर्वाचन हुँदैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.