![]()
काठमाडौ,२७ बैशाख ।
प्रधानमन्त्री पुष्पकमल दाहालले मंगलबार बिहान बोलाएको बैठकमा प्रमुख प्रतिपक्ष एमालेले संसद्मा विचाराधीन संविधान संशोधन विधेयकप्रति लचिलो बन्ने संकेत दिएको छ । संसद्मा दर्ता गराएको दोस्रो संविधान संशोधन विधेयकमाथि प्रमुख प्रतिपक्षबाट परेका संशोधनलाई समेत समेटेर अघि बढ्न सरकार तयार हुने अवस्थामा एमालेले आफू लचिलो हुने संकेत गरेको हो ।
प्रधानमन्त्री दाहाल र कांग्रेस सभापति शेरबहादुर देउवाले प्रतिपक्षबाट आएको संशोधनलाई समेत समेटेर संविधान संशोधनलाई सर्वस्वीकार्य बनाउन आफूहरू तयार रहेको बताउँदै त्यसका लागि संघीय गठबन्धनका नेताहरूलाई पनि मानिदिन आग्रह गरेका थिए ।
बैठकमा एमाले नेताहरूले आवश्यकता र औचित्यका आधारमा संविधान संशोधन गर्न आफूहरू बाधक नरहेको बताए । उनीहरूले संसद्मा विचाराधीन संविधान संशोधन विधेयक र त्यसउपर सरकारले राखेको संशोधनको अन्तर्वस्तुबारे प्रमुख प्रतिपक्षसँग छलफल नगरिएको भन्दै दुःखेसो पोखेका थिए ।
संविधान संशोधनका लागि दबाब दिन मंगलबार संघीय गठबन्धनका नेताहरूले प्रधानमन्त्री पुष्पकमल दाहालसँग समय मागेका थिए । प्रधानमन्त्री दाहालले भने त्यही मेसोमा कांग्रेस, प्रमुख प्रतिपक्ष एमाले र संघीय गठबन्धनसहितको बैठक डाके । बैठकमा संविधान संशोधनका लागि सरकारका प्रयासबारे जानकारी गराइएको थियो ।
बैठकमा एमालेका तर्फबाट उपाध्यक्ष वामदेव गौतम र संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ थिए । नेम्वाङले प्रधानमन्त्री दाहाल चीन भ्रमण जानुअघि एकपटक बोलाइएको र त्यसपछि मंगलबार नै मधेसी मोर्चा सहभागी भएको बैठकमा उपस्थित भएको बताए ।
दोस्रो चरणअन्तर्गत जेठ ३१ गते मधेसका सबै भूभागमा चुनाव हुँदैछ । दोस्रो चरणको चुनावअघि मधेसी जनतालाई प्रभावमा पार्न एमालेले टोन परिवर्तन गर्न खोजेको सत्तापक्षका नेताहरूको बुझाइ छ ।


