Breaking News.... EverestOnlineKhabar
May 11, 2026

प्रचण्डको लोकतान्त्रिक अपराधका मुख्य सारथी देउवा हुन्

Loading

राजिवनरसिंह केसी

‘तपाईले जीवनमा गरेका सवैभन्दा ठुलो गल्ति के के हुन ?’ जीवनको उत्तरार्धमा यही प्रश्न घोत्लिएर सोँचे भने नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफैमा उत्तर दिनेछन् ‘जेठ १३ को मध्यरातमा बालुवाटार बसेर बनाएको एउटा योजना, जसले परिवारबादका अगाडी लोकतन्त्रले घुडा टेक्यो ।’

संसदीय ब्यवस्थाका बिरुद्ध र साम्यबादी सपना देखाएर ग्रामिन क्षेत्रका १० हजारबढि निहत्था नागरिकलाई मृत्युको मुखमा पुरयाउने प्रचण्ड शक्ति आर्जन पछि संसदीय राजनीतिका रातो एक्का बनेका छन् । युद्धका नाममा शक्ति आर्जन गरेका प्रचण्ड लोकतान्त्रिक गणतन्त्र नामको संसदीय ब्यवस्थामा पनि खुल्लम खुल्ला नागरिकको कत्लेयाम गरिरहेका छन् ।

त्यही कत्लेआमको योजना उनी प्रधानमन्त्री हुँदा १३ जेठ राति बालुवाटारमा बनाएका थिए । छोरी रेणु दाहाललाई भरतपुर महानगरपालिकाको मेयर बनाउन प्रधानमन्त्रीको कुर्सी देउवा नामक कालो एक्कालाई दिएका प्रचण्डले जनताको अधिकारमाथी धावा बोल्ने हुकुमी आदेश दिए । परिणाम भरतपुरमा नागरिक दिएको मताधिकार खरानी भयो ।

प्रचण्डले छोरी रेणुलाई मेयर बनाउन मतपत्र च्यात्ने आदेश दिएका थिएनन्, नागरिकको मन च्यात्ने आदेश दिएका थिए । परिवारबादको स्वार्थ पुरा गर्न जनताको अधिकार खोस्ने यो कस्तो लोकतन्त्र हो ? संविधान सभाको निर्वाचमा आफुले र स्थानीय तहमा छोरी रेणुले धाँधली गरेर जिते मात्र लोकतन्त्र भएको ठान्ने प्रचण्ड बास्तविकतामा लोकतन्त्रका तानाशाह र नागरिकका अपराधी हुन् ।

प्रचण्डका छोरा र छोरी लोकतान्त्रिक ब्यवस्थाभन्दा माथि भएको प्रष्ट छ । छोरा प्रकाश दाहालले दुई श्रीमति राख्दा वा अर्काेकी श्रीमति भगाउँदा समेत कानुन कठघरामा आएनन् । उनीहरुलाई कानुनी कठघरामा ल्याउने ताकत लोकतान्त्रिक गणतन्त्र नेपालको कानुनले सकेन । सिर्जना जस्ता नारीहरु पिल्सिएर बस्नु परेको छ ।

त्यसैगरी छोरी रेणुले पनि भरतपुरमा लोकतान्त्रिक अपराध गरिन । एमाले कार्यकर्ताले मतपत्र च्याते भन्दै ठुलो स्वरमा कराइन । सामाजिक सञ्जालमा एमाले कार्यकर्ताले मतपत्र च्यातेको अफवाह फैलाइन । मतपत्र च्यात्ने र त्यसको बचाउन गर्ने रेणुमाथी कुनै कानुनले छोएन । उल्टै प्रतिस्पर्धी देवी ज्ञवालीका छोरा हिरासतमा पुगे । ज्ञवालीका छोराले पनि विरोधको सही शैली अपनाएका थिएनन् उनी कारवाहीको भागेदार बन्नै पर्दथ्यो तर लोकतन्त्रमाथी धावा बोल्ने रेणुले माफी समेत मागिनन् ।

युद्धकालमा नागरिकको नरसंहार गर्दा प्रचण्डलाई बचाउने तीन सारथी थिए । जनार्दन शर्मा, बर्षमान पुन अनन्त, नन्दकिशोर पुन पासाङ । लोकतन्त्र नामको संसदीय ब्यवस्थामा आएपछि प्रचण्डका सारथीहरु फेरिएका छन् । उनका सारथी केही मिडिया हाउसका सम्पादकहरु बनेका छन् । थापाथली र पुतलसडकबाट प्रचण्डको भजन गाइरहेका छन् ।

प्रचण्डको लोकतान्त्रिक अपराधका मुख्य सारथी हुन् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा । संसदमा रहेका पहिलो र दोस्रो दल एकै पटक सरकारमा नजाने कांग्रेसको निर्णय नै प्रचण्डका लागि अपराधको चौतारो बन्यो । उनले चाहेसम्म देउवा प्रधानमन्त्री बन्न सक्छन् । जसरी राजतन्त्रमा राजाले चाहेसम्म लोकेन्द्रबहादुर र सुर्यबहादुर थापा प्रधानमन्त्री बनिरहन्थे । लोकतन्त्रमा राजाको स्थानमा प्रचण्ड पुगेका छन् । सारमा उनी लोकतान्त्रिक रातो एक्का र एकतन्त्र शासनका राजा बनेका छन् ।

कांग्रेसले जवसम्म आफ्नो नीतिमा पुर्नविचार गर्दैन तवसम्म प्रचण्ड नामको रातो एक्कालाई घोडाबाट खसाल्न कसैले सक्दैन । उनी लोकतन्त्रमा अपराध गरिहन्छन् र देवी ज्ञवाली जस्ता ब्यक्ति प्रताडित बनिरहन्छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.