![]()
काठमाडौं । नेपाली राजनीतिको ‘सर्प्राइज’ अझै सकिएको छैन। काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले एकाएक राजीनामा दिएर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को वरिष्ठ नेताको जिम्मेवारी सम्हाल्न पुगेपछि राजनीतिक वृत्तमा भुईँचालो गएको छ।
महानगरको कुर्सी त्यागेर सिधै वनस्थलीस्थित रास्वपा कार्यालय पुगेका बालेन र सभापति रवि लामिछानेबीचको ‘अंगालो’ ले नयाँ राजनीतिक ध्रुवीकरणको संकेत गरेको छ। बालेनले त्यहाँ १० मिनेट मात्र बिताए पनि उक्त १० मिनेटले नेपाली राजनीतिमा वर्षौंसम्मको बहस सिर्जना गरिदिएको छ।
के बालेनले महानगरमा कामै नगरेका हुन्?
बालेनको राजीनामासँगै विपक्षीहरूले एउटै स्वरमा भन्न थालेका छन्— “बालेनले महानगरमा केही कामै गरेनन्, केवल स्टन्ट मात्र गरे।”
आलोचकहरूको तर्क छ कि बालेनले टुकुचा खन्ने, फुटपाथ व्यापारी लखेट्ने र फेन्सिङ लगाउने बाहेक दिगो विकासको कुनै खाका कोर्न सकेनन्। “काठमाडौं बनाउँछु भनेर भोट मागे, तर आधा बाटोमै राजीनामा दिएर भाग्नुले उनी जिम्मेवार नरहेको पुष्टि हुन्छ,” एक राजनीतिक विश्लेषकले टिप्पणी गरे।
झापा–५ मा बालेनको इन्ट्री: ‘हेभीवेट’ भिडन्तको तयारी?
अझ रोचक कुरा त के छ भने, बालेन अब झापा क्षेत्र नम्बर ५ बाट चुनाव लड्ने चर्चा चुलिएको छ। यो नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निर्वाचन क्षेत्र हो। तर प्रश्न उठ्छ— महानगरमै असफल देखिएका बालेनलाई झापावासीले किन मत दिने?
झापा–५ का मतदाताका लागि यी ३ प्रश्नहरू निकै पेचिलो बनेका छन्:
अधुरो यात्रा……..काठमाडौंका जनताले ५ वर्षका लागि दिएको म्यान्डेट पूरा नगर्नेले झापाको भविष्य सुनिश्चित गर्छन् भन्ने आधार के?
काम कि कुरा…………………..काठमाडौंको सुकुम्बासी समस्या समाधान गर्न नसकेका बालेनले झापाको विकासको मोडेल कसरी प्रस्तुत गर्लान्?
राजनीतिक स्थिरता……………….. स्वतन्त्र पहिचान बनाएका बालेन पार्टीको घेराभित्र बाँधिएपछि उनको “स्वतन्त्र” कार्यशैली जीवित रहला कि हराउला?
किन दिने त मत?
यद्यपि, बालेनका समर्थकहरू भने उनी झापा जानुलाई ‘परिवर्तनको साहस’ मान्छन्। भ्रष्ट संयन्त्रसँग लड्नका लागि एक्लै सम्भव नभएपछि उनी शक्ति संचय गर्न पार्टीमा गएको दाबी गरिन्छ। झापा–५ का युवाहरूमा बालेनप्रति अझै पनि एउटा क्रेज देखिन्छ, जुन पुरानो नेतृत्व विस्थापन गर्ने एउटा अस्त्र बन्न सक्छ।
काठमाडौंको कुर्सी छोडेर सिधै झापाको मैदान रोज्नु बालेनको ‘मास्टरस्ट्रोक’ हो कि ‘राजनीतिक आत्महत्या’, त्यो त चुनावी परिणामले नै देखाउनेछ। तर, रवि र बालेनको यो ‘अंगालो’ ले पुराना दलहरूको निद्रा भने पक्कै हराम गरिदिएको छ।
तपाईंको प्रतिक्रिया के छ? के बालेनले झापा–५ बाट चुनाव जित्लान्? कमेन्ट गर्नुहोस्।


